Logo

कृषि / सहकारी

मोदीसँगै आउँदैछ अमुल डेरी, नेपाली व्यवसायीद्वारा सडकमै दूध फाल्ने चेतावनी


appharu
   २२ बैशाख २०७५, शनिबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीति जति तातेको छ, ठिक त्यसैगरी यहाँको व्यावसायिक क्षेत्र पनि तातेको छ तर अर्कै कारणले ।
नाकाबन्दीपछि हुन लागको मोदीको भ्रमण र नागरिक अभिनन्दनले सर्वसाधारणमा आक्रोस उत्पन्न भएजस्तै स्वदेशी डेरी व्यवसायीहरु भने त्यहाँको बहुचर्चित डेरी कम्पनी अमुलको नेपाल प्रवेश घोषणाले त्राहिमाम भएका हुन् ।

नेपाल डेरी एसोसियसनले अमुल डेरीले नेपालमा प्लान्ट खोले नेपालका सम्पूर्ण डेरी व्यवसाय नै बन्द गरेर सडकमा आउने चेतावनी दिएको छ । यसअघि पनि मिल्क होलिडे विरुद्ध सडकमै दूध पोखेर आन्दोलनमा उत्रने गरेका व्यवसायी फेरि त्यस्तै अवस्था नआओस् भन्दै सरकारलाई चेतावनी दिइरहेका छन् ।

एसोसिएसनका अध्यक्ष रामकृष्ण सापकोटाले सरकारले आमुललाई प्लान्ट खोल्न दिए आफुहरुले नेपालको सम्पूर्ण डेरी बन्द गर्ने चेतावनी दिएका हुन् । उनले हालैको एक छलफलमा अमुललाई नेपालमा प्लान्ट विस्तार गर्न नदिन सरकारका अधिकारीहरुसँग माग गरे ।

एसोसिएसनका अनुसार नेपालमा वार्षिक १७ करोड लिटर दूघ उत्पादन हुने गरेको छ । आउँदो १ वर्षमा नेपाल दूध र दुग्धजन्य वस्तु उत्पादनमा आत्मनिर्भर हुने चरणमा रहेको बेला विदेशी उद्योग आउँदा स्वदेशी व्यवसाय धरासायी हुने सापकोटाको तर्क छ । उनका अनुसार यस क्षेत्रमा हालसम्म २० अर्ब रुपैयाँ लगानी भएको छ र ४ लाख ५० हजार किसानले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

सरकारी अधिकारीहरु भने विदेशी कम्पनीलाई नेपालमा उद्योग खोल्न रोक्न नसकिने बताउँछन् । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गाना भन्छन्, “विदेशी लगानीसँग डराएर हुँदैन, बरु आफू पनि प्रतिस्पर्धामा उत्रिन तयार रहनुस् ।”

भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपाल सरकारकै आग्रहमा अमुल डेरी नेपाल भित्रन लागेको हो । अमुल डेरीका प्रबन्ध निर्देशक आरएस सोधीका अनुसार नेपालको मध्यभागमा दूध उत्पादन राम्रो रहेकाले डेरी उद्योगको उच्च सम्भावना रहेको छ र यसमार्फत स्थानीय किसानलाई सहयोग पुग्नेछ । तर, सरकारका कुन अधिकारीले आग्रह गरे भन्ने स्पष्ट खुलाइएको छैन ।


भारतमा अमुल सहकारी मोडलमा सफल व्यवसाय मानिन्छ । संसारका ४० मुलुकमा अमुलका उत्पादन निकासी हुँदै आएका छन् भने नेपाली बजारमा पनि अमुलका उत्पादन लोकप्रिय रहेका छन् ।

 

प्रकाशित : २२ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह