Logo

सेयर बजार

अपर तामाकोशीमा टाठाबाठाले मात्र हाले सेयर, १ लाख स्थानीय अझै बाँकी


appharu
   १५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाकाले स्थानीयवासीका लागि खुलाएको सेयरमा मागभन्दा अढाइ गुणा आवेदन परिसके पनि सहभागिताका दृष्टिले भने निराशाजनक अवस्था छ ।

आयोजनाका अनुसार हालसम्म १ लाख ८० हजार व्यक्तिले सेयरका लागि आवेदन दिएका छन् । जबकि तत्कालीन जिविसको कार्यालय दोलखाले २०७१ सालमा लिएका घरपरिवार तथ्यांक सर्भेक्षणअनुसार २ लाख ८२ हजार १ सय २५ जना सेयर आवेदनका लागि योग्य छन् ।

यसबीचमा विवाह गरी आएका र जन्मिएकाले समेत सेयर आवेदन गर्न पाउने भएकाले आवेदनका लागि योग्य हुनेको संख्या अरु बढ्ने अनुमान छ । तर, अहिलेसम्म ६५ प्रतिशतमात्रले आवेदन गरेकाले आयोजना व्यवस्थापनको आग्रहमा विक्री प्रबन्धकले ७ दिन म्याद थपेको छ ।

बाँकी ७ दिनमा पनि उल्लेख्य परिमाणमा सेयर आवेदन पर्ने सम्भावना छैन । यस हिसाबले ७० देखि ७५ प्रतिशत दोलखावासीले मात्र सेयर आवेदन गर्ने सम्भावना देखिन्छ ।

खासगरी न्यूनतम ३० कित्ताको सीमा राखिएपछि यो सेयरमा त्यति आकर्षण पनि छैन ।

स्थानीयवासीले अधिकारका रुपमा पाए पनि यसबाट ठूलो प्रतिफल पाउने सम्भावना पनि छैन किनकी ३५ अर्ब लागत अनुमान गरिएको आयोजनाको अन्त्यसम्म लागत दोब्बर अर्थात ७० अर्बसम्म पुग्ने देखिएको छ भने अर्कोतर्फ आयोजना निर्धारित मितिभन्दा २ वर्ष ढिलागरी सम्पन्न हुँदैछ ।

हालसम्म आवेदनबाट २ अर्ब ७६ करोड रकम संकलन भएको छ । सुरुका दिनमा आवेदन रकम बढी भए तापनि पछिल्ला दिनहरुमा विश्लेषण गरेर थोरै रकमको आवेदन पर्न थालेको संकलन केन्द्रका बैंकहरूले जानकारी दिएका छन् ।

सेयर आवेदनका लागि न्यूनतम् ३० कित्ता र अधिकतम ३०० कित्तासम्म सीमा तोकेको छ । म्याद थपिएपछि अब भदौ २१ सम्म दोलखावासीले सेयरमा आवेदन गर्न सक्नेछन् ।

अपर तामाकोसी हाइड्रो पावर कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विगू गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन आयोजनाको अहिलेसम्म ९६.५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले आउँदो पुससम्म पूरा गर्ने लक्ष्य राखेको छ ।

आयोजना प्रभावित दोलखावासीका लागि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर निष्कासन भएको हो ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह