Logo

मुख्य समाचार

भारतीय दूतावासले झुलाएपछि ललितपुर उवासंघले बनाउँदै पाटन भीमसेन मन्दिर


appharu
   २५ भाद्र २०७५, सोमबार


काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त पाटनको भीमसेन मन्दिर स्थानीयले नै बनाउने भएका छन् । मन्दिर पुनर्निर्माणको जिम्मा सरकारले भारत सरकारलाई दिए पनि भारतीय दूतावासले वर्षौंसम्म बेवास्ता गरेपछि स्थानीयवासी आफैं पुनर्निर्माणमा जुटेका हुन् ।

ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीयवासी र ललितपुर महानगरपालिकाले पुनर्निर्माण गर्ने निर्णय गरेका छन् । यसका लागि महानगरपालिका र स्थानीय उद्योगी व्यवसायीबाट करिब १२ करोड संकलन गर्ने लक्ष्य छ ।

भारतीय दूतावासले आन्तरिक कारण देखाउँदै अझै १६ महिनासम्म पुनर्निर्माणको काम सुरु गर्न नसक्ने जनाएपछि स्थानीयले त्यत्रो समय कुर्न नसक्ने भन्दै रोष प्रकट गरेका छन् । यद्यपि, पुरातत्व विभागले भने भारत सरकारलाई पुनर्निर्माणको जिम्मेवारी दिइसकेकाले स्थानीयलाई यस्तो जिम्मेवारी दिन नसक्ने जनाएको छ ।

पाटन कृष्ण मन्दिरकाे पुनर्निर्माणसँगै त्यस क्षेत्रका सबैजसो संरचना पुनर्निर्माण भइसके पनि भीमसेन मन्दिर भने टेकोले अड्याइराख्दा अशोभनीय देखिएकाे स्थानीय बताउँछन् ।

ललितपुर उद्योग वाणिज्य संघले संस्कृतिमन्त्री रवीन्द्र अधिकारीबाट आफैं पुनर्निर्माणका लागि सहमति पाइसके पनि पुरातत्व विभागबाट भने अनुमति पाउन नसकिएको जनाएको छ ।

स्थानीयवासी भारतीय दूतावासको रवैयाप्रति सशंकित छन् । “हामी कहिलेसम्म कुर्ने ?” स्थानीय भन्छन्, “हामी आफैं बनाउँछौं भन्दा पनि भारतको दवावमा विभागले हामीलाई अनुमति दिँदैन, ऊ आफैं पनि बनाउँदैन भने अब हस्तक्षेप गरेर आफैं बनाउनुको विकल्प रहेन ।”

ललितपुर उवासंघका अध्यक्ष कृष्णलाल महर्जन पनि आफैं निर्माणका लागि कस्सिएका छन् । ऐतिहासिक धरोहर पुनर्निर्माणका लागि सबै व्यवसायीहरुले सकारात्मक साथ दिएपछि उनी उत्साहित देखिए ।

टेकोले अड्याइएको मन्दिर जुनसुकै बेला भत्कन सक्ने खतरा छ । संघ अध्यक्ष महर्जन मन्दिरमा बहुमूल्य सामग्रीसमेत रहेकाले तिनको संरक्षणका लागि मंगलबार क्षमापूजा गरेर भत्काउन सुरु गर्ने जानकारी दिए ।

उनका अनुसार अब उद्योग वाणिज्य संघ, मंगल टोल सुधार समिति र ललितपुर महानगरपालिकाले पुनर्निर्माण गर्नेछन् ।

प्रकाशित : २५ भाद्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह