Logo

सेयर बजार

माथिल्लो तामाकोशीको सेयर बाँडफाँडमा ढिलाइ, दोलखालीको दसैं नै खल्लो


appharu
   ३१ भाद्र २०७५, आइतबार


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैंपछि मात्रै बाँडफाँड हुने भएपछि दोलखा जिल्लावासीको दशैं नै खल्लो हुने भएको छ ।

सेयरका लागि आवेदन दिएका स्थानीयको रकम दसैंसम्म होल्ड हुने भएपछि दसैं खल्लो हुने देखिएको हो ।

स्थानीयले ऋण गरी सेयर आवेदन गरे पनि बाँडफाँड भएर बाँकी रहेको रकम दसैंपछि मात्रै फिर्ता हुने छ । अधिकांश स्थानीयले न्यूनतम सीमाभन्दा बढी आवेदन गरेका छन् । तर, उनीहरुले न त सबै रकमको सेयर पाउँछन्, न सेयर नपरेको रकम नै समयमै फिर्ता पाउनेछन् ।

मुख्य चाडबाडको समयमा सेयर आवेदन आह्वान गरी समयमै बाँडफाँड गर्न नसक्नुलाई प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कमजोरीका रुपमा हेरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैंपछि गरिने सो आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पुष्टि गरेका छन् ।

सम्भवतः कात्तिकको दोस्रो वा तेस्रो सातामात्रै यो सेयर बाँडफाँड हुनेछ भने अन्तिम साता वा मंसिर पहिलो सातामात्रै स्थानीयको रकम फिर्ता हुनेछ । आयोजनाको साधारण शेयर भने कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए ।

जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गते सकिएको छ । शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको जनाइएको छ ।

तामाकोशी हाइड्रोपावरले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । साधारण सेयरमा मुलुकका ७६ जिल्लाका नागरिकले मात्र आवेदन गर्न पाउनेछन् ।

स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

स्थानीयको सेयरमा भने २ लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको थियो । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

प्रकाशित : ३१ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह