Logo

कर्पोरेट-बजार

वायुसेवा निगममा फेरि कार्यकारी विवाद, दशक पुरानो घाउ किन बल्झाउँदैछन् पर्यटनमन्त्री ?


appharu
   १ आश्विन २०७५, सोमबार


हवाई माफियाको ग्रयान्ड वायुसेवा निगममा एक दशकअघिको रोग बल्झियो, कंसाकार र खरेल को कार्यकारी ?
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा पूर्व महाप्रवन्धक मदन खरेललाई जस्केलाबाट छिराएसँगै कार्यकारी विवाद फेरि बल्झेको छ ।

एक दशकअघि तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक कुलबहादुर लिम्बु (केबी)बीचको विवादले थलिएको निगममा सरकारले जानीजानी सोही रोग भित्र्याएको छ ।

खरेललाई जसरी पनि निगममा भित्र्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चोरबाटो प्रयोग गर्दै उनलाई पहिले सञ्चालक समिति सदस्य र पछि कार्यकारी अध्यक्षको नियुक्ति दिलाए । तर, निगममा पहिले नै कार्यकारी अधिकारसहित एमडीका रुपमा कंसाकार बहाल रहेकाले अध्यक्षको भूमिका के हुने भन्ने प्रश्न उठेको छ ।

निगमले नयाँ जहाज भित्र्याइसकेको र नयाँ जहाज खरीदका लागि तत्काल नीतिगत निर्णयको अवस्थासमेत नरहेकाले सरकारले कार्यकारी अधिकार नै दिए पनि खरेल निगममा कामविहीन नै हुनेछन् । दैनिक प्रशासनिक कामकारवाहीको जिम्मेवारी एमडी कंसाकारकै हुने भएकाले खरेलले हस्तक्षेप गर्नसक्ने अवस्था छैन ।

खरेलको निगम प्रवेशपछि धेरैले कंसाकारले राजीनामा गर्ने अनुमान गरे पनि उनले राजीनामा नगर्ने स्पष्ट पारिसकेका छन् । उनले आफैं एमडी रहेको र राजीनामा गर्ने हल्लामात्र भएको ट्वीट गरेका छन् । निगममा उनको कार्यकाल अझै ८ महिना बाँकी छ ।

दशकअघि निगमकै वरिष्ठ क्याप्टेन केबी लिम्बुलाई महाप्रबन्धक बनाइँदा कंसाकार कार्यकारी अध्यक्षको भूमिकामा थिए । लिम्बुको अवरोधका बीच कंसाकारले जहाज खरीदको निर्णय गराइ २ न्यारोबडी जहाज समेत नेपाल भित्र्याएका थिए । यसका लागि उनी अख्तियारको मुद्दामा केही दिन धरौटी जम्मा गर्न नसकी जेल नै गए पनि पछि सफाइ पाएर काममा फर्केका थिए ।

तर, अहिले विगतको जस्तो राजनीतिक संक्रमण नरहेको अवस्थामा पर्यटनमन्त्री अधिकारीले किन निगममा अस्थिरता निम्त्याउन खोजेको हो भन्ने प्रश्न उठेको छ । निगमकै पूर्व अधिकारीहरु भने केही हवाई माफियाहरु निगमविरुद्ध सुनियोजित प्रचारमा उत्रेको र उनीहरुकै डिजाइनमा खरेललाई निगममा छिराइएको बताउँछन् ।

निगमको जहाज खरीदसँगै हिमालय एयरलाइन्सको अधोगति सुरु भएको र केही विदेशी एयरलाइन्सको समेत नेपालमा व्यवसाय खस्किएपछि उनीहरु नै निगमलाई सिध्याउन लागिपरेको एक अधिकारीले बताए ।

विगतमा सार्वजनिक लेखा समितिमा रहेर निगमको कार्यकारी विवादले उत्पन्न समस्याबारे आफैं बुझेका अहिलेका पर्यटनमन्त्री अधिकारी भने प्रधानमन्त्रीको निर्देशनमा तिनै हवाई माफियाको लाचार छायाँमात्र बनेका छन् ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह