Logo

अर्थनीति

अमेरिकालाई चीनको काउन्टरः ६० अर्ब डलरका अमेरिकी सामानमा कर वृद्धि


appharu
   ४ आश्विन २०७५, बिहिबार


बेइजिङ । महाशक्ति राष्ट्र अमेरिका र उदाउँदो महाशक्ति राष्ट्र चीनबीच व्यापार युद्ध नयाँ मोडमा पुगेको छ । दुवै मुलुक एक अर्काका सामानमाथि कर बढाउने प्रतिस्पर्धामा छन् ।

अमेरिकाले करिब २ सय अर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मंगलबार ६० अर्ब अमेरिकी डलरबराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ ।

चीनले करिब ५ देखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब ५ हजार २ सय अमेरिकी सामानमा सोमबारदेखि नै लागू हुने गरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ ।

यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गए चीनले यथोचित प्रतिक्रिया दिनेछ, मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ ।

अमेरिकाले चीनबाट आउने सामानमा नयाँ २ सय अर्ब अमेरिकी डलरबराबरको सामानमा कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याए बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको थियो ।

“यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरुद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार र चाहनालाई प्रत्याभूत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए ।

विश्वका यी दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ, जसका कारण दुवै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघिदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलरबराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो ।

हालै वासिङ्टनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई चीनले गत साता स्वागत गरेको थियो । यस विषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो, जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो ।

तर, मंगलबार अमेरिकी प्रशासनले गरेको निर्णयपछि चीनको यो प्रतिक्रिया आएको हो । ट्रम्प प्रशासनले थप २ सय अर्ब डलरबराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ ।

अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापारयुद्ध निम्त्याउने खतरा बढेको छ । अमेरिकाको पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ ।

अमेरिकाले चीनबाट वार्षिक करिब ५ सय अर्ब अमेरिकी डलरबराबरको सामान आयात गर्छ ।

प्रकाशित : ४ आश्विन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह