Logo

Uncategorized

‘जनप्रतिनिधि नै डोजर किन्न थाले, हामी भने विस्थापित भयौं’


appharu
   ८ आश्विन २०७५, सोमबार


काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि विकास निर्माणको काममा मूल फुट्ने सर्वसाधारणको अपेक्षा पूरा हुने छाँट त छैन नै ।

यससँगै जनप्रतिनिधि नै चोर बाटोबाट ठेकेदार बन्ने बाटोतर्फ अग्रसर भइरहँदा वर्षौंदेखि यही क्षेत्रमा काम गर्ने व्यवसायी भने विस्थापित हुने जोखिम देखिएको छ ।

अहिले मुलुकका धेरै स्थानीय तहमा डोजरलगायतका हेभी इक्युपमेन्टमार्फत काम भइरहे पनि तिमध्ये अधिकांश जनप्रतिनिधिकै नजिककाले काम पाइरहेका छन् । उनीहरुले सरकारी बजेटमा करोडौंको काम पाउँदा नयाँ नयाँ मेसिन किनेका छन् तर यसको असर पुराना व्यवसायीलाई परेको छ ।

नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कुँवरले सोमबार बिहानै फेसबुकमा एउटा मर्मस्पर्शी पोष्ट गरेका छन् । जसमा उनले यस व्यवसायमा लागेको १२ वर्षपछि पहिलोपटक खाली बस्नुपरेको उल्लेख गरेका छन् ।

कुँवर अगाडि लेख्छन्– हाम्रा मेसिनमा खिया लागिरहेको छ, कुन दिन बैंकले लात हान्ने हो ।
उनले शक्तिशाली व्यत्तिहरुले नयाँ मेसिन किन्न लागेको भन्दै बिक्री गर्न चाहेको उल्लेख गरेका छन् र यसको तस्बिरसमेत पोष्ट गरेका छन् ।

प्रस्तुत छ अध्यक्ष कुँवरको पोष्ट जस्ताको तस्तै:

खोइ के पो गर्ने हो ? नयाँ नेपाल बनाउन ल्यायको मेसिनहरुमा खिया लागिसक्यो । १२ वर्षदेखि यो काममा लागेको, अहिलेसम्म खाली बस्नुपरेको थिएन । यो वर्ष त के भो के भो जेष्ठदेखि यी मेसिनहरु आराम गरिरहनु भा’छ । बैंकले कुन दिन रास्ट्रिय दैनिकमार्फत लात हान्ने हो !!! गाउँपालिका, नगरपालिका प्रमुख तथा वडा अध्यक्ष र वडा सदस्यहरु, मेयर, सांसद, पूर्व सांसद, पूर्व नेपाली सेनाका सा’बहरु, पूर्व उच्चपदस्थ कर्मचारीहरु, शक्तिसम्पन्न राजनीतिक गुरुहरु तथा ठूलो निर्माण व्यावसायी सरहरु नयाँ मेसिन किन्न खोज्दै हुनुहुन्छ भने हामी विस्थापित हुँदैछौं । त्यसैले हाम्रो मेसिनहरु उपयुक्त मूल्य राखी लान सक्नुहुनेछ ।

प्रकाशित : ८ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह