Logo

सूचना/प्रविधि

नेपाली बजारमा नयाँ आइफोनको मूल्य १ लाख ७० हजारसम्म !


appharu
   ५ कार्तिक २०७५, सोमबार


काठमाडौं । एप्पलका पछिल्ला उत्पादन आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्स नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । तर, नेपाली बजारमा यी मोबाइलको मूल्य अपेक्षा गरिएभन्दा महँगो रहेको पाइएको छ ।

एप्पल प्रडक्ट्स नेपालका अनुसार आइफोन एक्सएस म्याक्सको मूल्य १ लाख ७० हजार तथा आइफोन एक्सएसको मूल्य १ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाली बजारमा उपलब्ध मोबाइल सेटमध्ये एप्पलका यीनै मोडल सर्वाधिक महँगो मानिन्छन् । संसारभर एप्पलका यी प्रडक्टको चर्चा भइरहँदा नेपालमा पनि यसको विषयमा चासो राख्ने धेरै रहेको बिक्रेताहरु बताउँछन् ।

अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले गत महिना एकैपटक तीन किसिमका आइफोन सार्वजनिक गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कुकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका थिए ।

यद्यपि, आइफोन एक्सएस म्याक्सको मूल्य अमेरिकी बजारमा ११०० डलरमात्रै पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी हो ।

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले सोही बेला आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको थियो । अक्टोबर २६ बाट बजारमा आउने भनिएको यसको मूल्य करिब ७५० अमेरिकी डलर छ । नेपाली बजारमा यसको मूल्य कति हुने भन्ने निर्धारण भइसकेको छैन ।

आइफोन एक्सएसको अन्तर्रा्ष्ट्रिय बजारमा सुरुआती मूल्य ९९९ डलर (६४ जिबी डिभाइसमा) तोकिएको छ। यसमा सुपर रेटिना डिस्प्ले तथा थ्रिडी टच फिचर समावेश छ। यसको स्कृन ५.८ इन्चको छ।

आइफोन एक्सएसमा ६.५ इन्चको स्क्रिन छ भने यो फोन तीन रंग गोल्ड, सिल्भर र ग्रेमा आएको छ । एक्सआरमा एलसिडी डिस्प्लेका साथमा १२ मेगापिक्सलको क्यामेरा छ ।

प्रकाशित : ५ कार्तिक २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह