Logo

कर्पोरेट-बजार

कालिञ्चोक केबलकारद्वारा सुरुमै ठगी, ४ मिनेटको दूरीमा ५ सय रुपैयाँ भाडा !


appharu
   १८ कार्तिक २०७५, आइतबार


काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक पुग्न छोटो दूरीको केबलकार सञ्चालन आए पनि यो सुरुमै भाडा विवादमा तानिएको छ ।

केबलकारले दुईतर्फी भाडा ५ सय निर्धारण गरेसँगै दोलखाका अग्रज पत्रकार भोजराज न्यौपानेले यसलाई लुटतन्त्रको परकाष्ठा भन्दै फेसबुकमा एउटा टिप्पणी लेखे ।

न्यौपाने लेख्छन्ः
कालिञ्चोकमा केबलकार : चार मिनेटको दूरी, पाँच सय रुपैयाँ भाडा निर्धारण । योभन्दा लुटको पराकाष्ठा केही हुन्छ ? केबलकारको भाडा निर्धारण कसरी भएको छ ? यसको मापदण्ड के हो ? नागरिकको सुरक्षा प्रबन्धमा सरकारले के काम गरेको छ ? सार्वजनिक गरोस् ! लुटतन्त्रबाट देशलाई जोगाउँ ।

 

शनिबारबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको केबलकारको भाडा महँगो भएको भन्नेमा पत्रकार न्यौपानेसँग सबै सहमत छन् ।

तर, प्रधानमन्त्री केपी ओलीका नजिकका व्यवसायी वालकृष्ण शिवाकोटीसहित स्थानीय राजनीतिक दलका नेताहरुको लगानी रहेको केबलकारले आफूखुसी भाडा निर्धारण गरे पनि यसमा स्थानीयले प्रश्नसमेत गर्न सकेका छैनन् ।

कालिञ्चोकभन्दा तीन गुणा बढी दूरी भएको मनकामना र चन्द्रागिरी केबलकारको भाडादर समेत कालिञ्चोककै हाराहारीमा छ ।

मनकामना र चन्द्रागिरी दुवैको भाडादर ७ सय रुपैयाँ हाराहारीमा छ भने यसको समेत महँगो भएको भन्दै आलोचना भइरहेको छ ।

नेपालमा हालसम्म केबलकारको भाडासम्बन्धी कुनै नियमन हुन सकेको छैन । सरकारको यही कमजोरीको फाइदा उठाउँदै कालिञ्चोक केबलकारले ब्रह्मलुट मच्चाएको देखिन्छ ।

तर, राजनीतिक संरक्षणप्राप्त व्यक्तिहरुको लगानी रहेको कालिञ्चोक केबलकारले भने विरोध गर्नुपर्ने राजनीतिक पार्टीका नेताहरुको मुखमा बुझो लगाइसकेकाले भाडा घटाउने पहल हुनेमा समेत आशंका छ ।

निर्माणका बेलादेखि नै निकै विवादमा पर्दै आएको केबलकारले कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भने हुनेछ ।

तर, पैदलयात्राको दूरीसमेत लामो नभएकाले यसलाई अनावश्यक लगानी पनि भन्ने गरिएको छ । हाल गाडीबाट ओर्लेर ३० मिनेट सामान्य हिँडाइमा पनि गन्तव्यमा पुग्न सकिन्छ ।

शनिबारदेखि सञ्चालनमा आएको कालिञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे सञ्चालकहरुको दाबी छ ।

प्रकाशित : १८ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह