Logo

Banner-news

चोभारमा यस्तो बन्ने भयो सुक्खा बन्दरगाह र प्रदर्शनी केन्द्र, आज शिलान्यास


appharu
   ३ माघ २०७५, बिहिबार


काठमाडौं । काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह र अत्याधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण हुँदैछ ।

हिमाल सिमेन्टको १ हजार ५४ रोपनी जग्गामा दुवै संरचना निर्माण हुनेछन् । २ सय १० रोपनीमा बन्दरगाह र बाँकी क्षेत्रफलमा निर्माण गरिने योजना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुक्खा बन्दरगाहको शिलान्यास गर्ने भएका छन् ।

स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माणको काम अन्ततः सुरु हुने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएपछि बन्दरगाह निर्माण हुने भएको जनाइएको छ । स्थानीयवासीका माग सम्बोधन गर्ने गरी त्यसको निर्माण कार्य अगाडि बढाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीयवासीले भने सिमेन्ट उद्योगका लागि अधिग्रहण गरिएको जग्गामा नयाँ पूर्वाधार बनाउन तथा आफूहरूले मुआब्जासमेत नपाएकाले जग्गा नै फिर्ता पाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

काठमाडौं–तराई द्रुतमार्ग र वीरगन्ज काठमाडौं रेलमार्गसँग यो बन्दरगाह जोडिने जनाइएको छ ।

अब विशाखापट्टनम र कोलकाताबाट सामान बोकेर आएका ट्रक तथा कन्टेनरको चेकचाँज नभइ सिधै चोभारमा आउने छन् । बन्दरगाहमा भन्सार कार्यालय, इन्टरमोडल कार्यालय, बैंक, प्लान्ट तथा लाइभस्टक, क्वारेन्टाइन, गोदाम, जाँचपास कक्ष, मालवाहक कन्टेनर र ट्रक लोड तथा अनलोड गर्ने सुविधा हुनेछ ।

सुक्खा बन्दरगाहमा २ सय ५० वटा कन्टेनर पार्किङको क्षमता रहनेछ । स्रो मुलुकबाट आयात हुने सामानका लागि छुट्टै र नेपालका विभिन्न स्थानबाट आउने सामानका लागि छुट्टै यार्ड र पाँचवटा वेयरहाउस निर्माण गरिने छ ।

बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित : ३ माघ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह