Logo

Banner-news

सीआईजे रिपोर्टले मेरो सार्वजनिक छविमा क्षतिः चन्द्र ढकाल


appharu
   ३ माघ २०७५, बिहिबार


काठमाडौं, आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले खोज पत्रकारिता केन्द्र (सीआईजे)को रिपोर्टका कारण आफ्नो सार्वजनिक छविमा क्षति पुगेको बताएका छन् ।

ढकालले आफूहरूको स्वीस बैंकमा कुनै खाता नभएको तथा ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी दर्ता नभएको प्रष्ट पार्दै आफ्नो सार्वजनिक छविमा क्षति पु¥याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाए । “हामी यसमा गम्भीर आपत्तिसमेत प्रकट गर्दछौं,” बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।


आफूहरूको समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको ढकालले जनाए । सीआईजे नेपालमार्फत तयार गरी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका केही समाचारमा आफूहरूको पनि नाम जोडिएकोमा उनले आपत्ति जनाएका हुन् ।

“बुधबार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेसल कन्सोर्टिएम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म (आईसीआईजे)सँग उपलब्ध प्याराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाइ छ,” उनले भने ।

ढकालका अनुसार आईएमई समूहले नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने काम सुरु भएको हो । यसअघि अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा आईएमई स्थापनापछिका डेढ दशकमा कम्पनीमार्फत हालसम्म १४ खर्ब वैध माध्यमबाट रकम भित्रिएको छ ।

मलेसियामा आईएमई स्थापनलगत्तै बेलायतलगायत अन्य देशहरूबाट पनि कारोबार गर्नका लागि २००२ जुन १७ मा राष्ट्र बैंकबाटै स्वीकृति लिएर २००२ अगस्ट २१ मा बेलायतमा कम्पनी स्थापना भएको उनको भनाइ छ । “त्यसपछि नेपालीहरूको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्यक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेबसाइटमा समेत राखेका छौं,” पत्रकार सम्मेलनमा ढकालले भने, “यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको पनि होइन् । बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भिœयाउन थालेका हौं ।”

ढकालले आफ्ना भाइ हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासीय नेपाली भएको बताए । उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायतलगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेस हेर्दै आएको पनि जानकारी दिए ।

नेपालको कानुनले गैर आवासीय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज नलगाएको उनको धारणा छ । ढकालले सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोजपत्रकारिताका नाममा आफूहरूमाथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको बताए ।

प्रकाशित : ३ माघ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह