Logo

Banner-news

चौधरी ग्रुपको सुविधासम्पन्न होटल ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा


appharu
   ४ माघ २०७५, शुक्रबार


काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ जसलाई विश्वविख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘मेघौली सेराई’लाई ‘एल–अफिसियल’म्यागेजिनले संसारका सुन्दर होटल÷रेस्टुराँको सूचीमा राखेको छ ।

“करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउनेछ,” सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।”

सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा रहर लाग्दा कोठा छन् । छोटो र लामो बसाइका लागि यो होटल उत्कृष्ट रोजाइ बन्नेछ ।

विशेषगरी एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’जस्तो विख्यात विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।

“यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य परख गर्न चाहने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौंमा स्वागत गर्न आतुर छौं ।” एनई ग्रुपका प्रबन्धनिर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइनेछन् । पर्यटकलाई भिभान्ताको बसाई संझाना योग्य रहनेछ ।”

‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्वीमिङपुल र स्पाको सुविधा पनि उपलब्ध गराउनेछ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्नेछन् । आतिथ्यताका हरेक विश्वस्तरीय मानकमा ‘भिभान्ता काठमाडौं’ले आफूलाई अब्बल सावित गर्नेछ ।

आईएचसीएल र यसका ब्रान्ड÷एकाइहरू मौलिक भारतीय आतिथ्यता र विश्वस्तरीय सेवाको सम्मिश्रणमार्फत व्यावसायिक उडानमा लामो समयदेखि पखेटा फिजाइरहेका छन् । संस्थापक जमसेतजी टाटाको बृहत् योजनाबमोजिम टाटा ग्रुपले तत्कालीन बम्बईमा सन् १९०३ मापहिलो होटल ‘ताज महल प्यालेस’ खोलेको थियो । कम्पनीले अहिले चार महादेशका ११ देशमा अवस्थित ७२ ठाउँमा १४५ वटा होटल सञ्चालन गरिरहेको छ ।

रविभक्त श्रेष्ठले नेतृत्व गरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुख प्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्री उत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ ।

सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ ।

प्रकाशित : ४ माघ २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह