Logo

मुख्य समाचार

मुख्यमन्त्री पोख्रेल भन्छन्– कालोधन लुकाउन मिडियामा लगानी बढ्यो !


appharu
   १३ माघ २०७५, आइतबार


काठमाडौं । मुलुकमा एकपछि अर्कोगरी अनलाइन मिडिया खुलिरहेका बेला सरकारका एक जिम्मेवार अधिकारीले भने यसमा कालोधनको प्रयोग भएको दाबी गरेका छन् । नयाँ मिडियामा लगानीको स्रोतबारे विभिन्न अड्कलबाजी भइरहेका बेला प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कालोधन लुकाउन मिडियामा लगानी भइरहेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग अत्यन्तै निकट मानिएका मुख्यमन्त्री पोख्रेलको यो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । ओली सरकारको गतिविधिप्रति आम सञ्चार माध्यम त्यति सकारात्मक छैनन् । सरकारको चर्को आलोचना मिडियाबाटै प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री असन्तुष्ट छन् ।

यतिमात्र नभै प्रधानमन्त्रीले युरोपमा विदेशीसामु लोकतन्त्र मिडियालाई मात्र नआएको टिप्पणी गरेर मिडियाप्रति अझै असहिष्णु हुने संकेत गरेका छन् । यहीबेला ओलीका विश्वासपात्र मुख्यमन्त्री पोख्रेलेको अभिव्यक्ति बाहिर आएको छ । उनले शनिबार अर्घाखाँचीमा पत्रकारहरुकै कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । तर, कुन मिडियामा कसको कालोधन आएको छ भन्ने उनले खुलासा गर्न चाहेनन् ।

सम्बोधनका क्रममा मुख्यमन्त्री पोखरेलले व्यावसायिक लगानीको रूपमा मिडियामा लगानी बढिरहेको बताउँदै दृश्य र अदृश्य रूपमा कमाएको सम्पत्ति सुरक्षित गर्नका लागि मिडियामा लगानी गर्नेको संख्या बढेको बताए ।

पोख्रेललले पत्रकार महासंघलाई नेपालका कुनकुन लगानीकर्ता रातारात धनी भए र कसरी मिडिया हाउस सञ्चालन गरे भनी खोजअनुसन्धान गर्न आग्रह गरे । यद्यपि, कालोधन खोज्ने जिम्मेवारी मिडियाभन्दा सरकारकै हो भन्नेमा भने उनले नबुझेका होइनन् ।

पत्रकार महासंघले नबुझी वामपन्थी सरकारको विरोध गरेको उनले बताए । वामपन्थी सरकारले प्रेसलाई रोक्नका लागि कानुन पास गराएको भन्नु नमिलेको उनको भनाइ छ ।

मुख्यमन्त्री पोख्रेलले कालोधन लुकाउन मिडियामा लगानी गर्नेक्रम बढेको बताउँदै मिडियामा लगानी गर्ने र निष्पक्षताबाहिर रहेर आलोचना गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न पत्रकार महासंघले बहस चलाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।

प्रकाशित : १३ माघ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह