Logo

Banner-news

प्रविधिको महामेला ‘क्यान इन्फोटेक’ सुरु, यस्ता छन् आकर्षण


appharu
   १५ माघ २०७५, मंगलबार


काठमाडौं । सूचना तथा सञ्चार प्रविधिलाई नागरिकसम्म पुर्याउने उद्देश्यले क्यान महासङ्घको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान इन्फोटेक मेला सुरु भएको छ ।

‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई–सेवा’ नाम दिइएको उक्त मेलामा कूल १७५ कक्ष रहेका छन् । आगामी छ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता छ ।

मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरीद गर्न पाउनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसपटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइनेछ । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीयस्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इण्डोनेशियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक÷एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते ‘बिजनेस डे’का दिन भने सबैले १ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँनयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्नसक्ने क्यान महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए ।

इन्फोटेकका मुख्य प्रायोजक सुविसु केवलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ । मेलामा विशेष आकर्षणका रूपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ ।

 

प्रविधिको पहुँच दूरदराजसम्मः सञ्चारमन्त्री

कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताए । मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको पहुँचलाई विस्तार गरिने उल्लेख गरे ।

“सूचना प्रविधिमा आधारित उद्योग, ज्ञान, सीप र क्षमतालाई सम्पूर्ण तहमा व्यक्ति र संस्था अर्थात् ‘करोडपतिका बीचमा मात्र होइन, दुई हजार रुपैयाँको ज्येष्ठ नागरिक भत्ताले जीवन धान्ने परिवारमा’ पनि प्रविधिलाई कसरी पु¥याउने भन्ने सरकारको सोचाइ छ । बरु, कुन तरिकाबाट पु¥याउन सकिन्छ, तपाईं सरोकार भएका सबैको साथ चाहिन्छ । अहिले बलियो सरकार छ, नीति र बजेटमा व्यवस्थापन गर्न सकिन्छ”, सञ्चारमन्त्री बाँस्कोटाले भने ।

बाँस्कोटाले प्रविधिको विकास विस्तारका लागि सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्ने जानकारी दिए । प्रविधिको महत्वलाई ध्यानमा दिएर निर्माण हुने औद्योगिक क्षेत्रमा सूचना प्रविधिको क्षेत्रलाई स्थान छुट्याउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

उद्योग प्रवद्र्धन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार उत्साहित रहेकाले नीतिगत सुधारमा कुनै कञ्जुस्याइँ गर्दैन भन्दै उनले व्यवसायीले पनि लगानीलाई पारदर्शी बनाई परिवर्तनलाई गति दिने गरी अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ,
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले प्रविधिको पहुँच दुर्गम गाउँसम्म पु¥याउन सरकार र निजी क्षेत्रको साझेदारितामा जोड दिए ।

सुविसु इन्टरनेट प्रालिका अध्यक्ष सुधीर पराजुली र ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले आधुनिक सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गरी रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए भने क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले सरकारले लिएको ‘डिजिटल ट्रान्सफरमेशन’ को अवधारणलाई सार्थक तुल्याउन संस्थाले प्रविधि प्रवद्र्धनात्मक कामलाई तीव्रता दिने उल्लेख गरे ।

प्रकाशित : १५ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह