Logo

लौठसल्ला खेती गर्ने हो ? प्रतिकेजी १५ लाखसम्ममा बिक्छ !




काठमाडौं । नेपालका वनपाखामा पाइने दुर्लभ वनस्पती लौठसल्ला अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १५ लाख रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ । क्यान्सरजस्ता रोगको औषधिका लागि केमिकल पाइने लौठसल्ला नेपालमा पाइने भए पनि यसको सदुपयोग भने हुन सकेको छैन ।

फर्माकम्पास डटकमका अनुसार भारतले हालै ताइवानमा प्रशोधन गरेर प्रतिकेजी झण्डै १५ लाख अर्थात १३ हजार ५ सय २२ डलरमा बिक्री गरेको छ । तर, नेपालमा भने संरक्षणको अभावमा नाजुक अवस्थामा पुगेको छ ।

जानकारहरुका अनुसार क्यान्सर उपचारका लागि प्रयोग आधुनिक औषधि ट्याक्ससोल नामक केमिकल बनाउन यसको उपयोग हुने गरेको छ ।

अहिले काभ्रेको बेथानचोकमा यसको व्यावसायिक खेतीसमेत सुरु भइसकेको छ । यसको ५ देखि १० वर्षमा पात निकाल्न सकिने र ठूलो रुख हुन लामो समय लाग्ने गर्दछ ।
हाल जथाभावी रूपमा बिक्री भइरहेको यसको नेपाली बजारमा मूल्य भने प्रतिकेजी ५ सय रुपैयाँमात्रै छ ।

विश्वमै संकटग्रस्त रूपमा रहेको र क्यान्सर रोगको उपचारका लागि मुख्य वनस्पतिको रूपमा लिइने ‘माइरेई’ लौठसल्लाको बल्ल नेपालमा गणना सुरु भएको हो । नेपालसहित चीन, म्यानमार, इण्डोनेसिया, भुटान लगायतका देशमा यो पाइन्छ ।

नेपालमा पाइने तीन प्रजातीको लौठसल्ला मध्ये तीन प्रजाती कन्र्टोटा पश्चिम नेपालमा, माइरेइ मध्य नेपालमा र वाली चियानामध्यदेखि पूर्वसम्म पाइने गरेको छ ।

 

वैज्ञानिक नाम Taxus wallichiana Zucc.ले चिनिने लौठसल्ला Taxaceae परिवार भित्रको Taxus Genus को यो एक मात्र प्रजाति हो। यस वनस्पतिको नेपाली नाम लौठसल्ला भए पनि विभिन्न स्थान अनुसार लोठसल्ला, ढ्याङ्ग्रेसल्ला, बर्मेसल्ला, रातोकाठ वा सिलिङ्गी (मनाङ), थुनेर वा तालिसपत्र (जुम्ला/हुम्ला), किसिम वा झिमिरसीन (मुस्ताङ/पर्वत), पाटेसल्ला(काभ्रेपलान्चोक), सिङ्गे वा झाँक्रिसल्ला, ठिङ्ग्रेसल्ला आदि नामले पनि चिनिन्छ। लौठसल्लाको तिब्बती नाम सान्गा सींग हो भने यसलाई नेपाल भाषामा ल-स्वाँ, संस्कृतमा मधुपर्नी वा तालिस र अङ्ग्रेजीमा हिमालयन यिउ भनेर चिनिन्छ।

 

लोठसल्ला लगभग ३० मीटर सम्म अग्लो हुने, फैलिएको हाँगा विँगा भएको सदावहार कोणधारी वनस्पति हो। यसको पात मसिनो, लाम्चो,चेप्टो र वीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र ३ मी . मी चौडा भएका हुन्छन्। यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घीउ रंगका, गोला , साना , डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ। फल काँचोमा हरिया र पाके पछि राता हुन्छन्। बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउको आधा भन्दा बढी भाग छोपेको हुन्छ। यो काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ र नेपालमा यो पूर्व देखि पश्चिम सम्म १८००–३००० मीटर उचाई सम्मका जंगलहरूमा फैलिएको पाइन्छ। खासगरि गोब्रे सल्लो सँग मिसिएर हुर्केको भेटिन्छ।

विगत दुई दशक देखि यो विरुवाले नेपालमा निकै चर्चा पाएको छ। खासगरि छाती र पाठेघरको क्यान्सरमा यसको उपयोगिता प्रमाणित भएपछि नेपालबाट यसको व्यापार तिव्र गतिमा हुन थाल्यो , जसको फलस्वरूप यसको अत्याधिक संकलन हुन गई सरकारले यसको व्यापारमा प्रतिबन्ध समेत लगाउने अवस्था पुग्यो। हाल यसको संकलन गर्न वातावरणी प्रभाव अध्ययन गरेर मात्र ईजाजत दिने गरिन्छ। संकलन पश्चात् प्रशोधन नगरी विदेश निकासी गर्न समेत प्रतिबन्ध लगाइएको छ। यसबाट निस्कने अन्तिम उत्पादन टेक्सोल (taxol) नै क्यान्सर रोग निको पार्नमा सहयोग पुर्याउने रासायनिक तत्व हो।

 

खेती विधि

यस प्रजातिको प्रसारण बीउ र हांगाको कटिङ्ग दुवैवाट गर्न सकिन्छ। लौठ सल्लाको बीउद्वारा विरुवा उमार्ने कार्य अत्यन्तै कठिन तथा करिव २ वर्ष जति समय लाग्ने, उचाईमा भर पर्ने गरी ९६-२०८ हप्ता लाग्दछ। चरा बाँदर तथा अन्य जंगली जनावरहरूले एक त यसको बीउ परिपक्व हुनु भन्दा अगाडि नै खाई नोक्सान गर्ने गर्दछन् भने अर्का तर्फ बीउको अंकुरण क्षमता ८ प्रतिशत भन्दा कम नै हुने गरेको पाइन्छ। बीउबाट उम्रिएका विरुवा अत्यन्तै ढिलो वढ्ने हुँदा हालको मांगलाई पूर्ति गर्न सक्ने स्थिति देखिदैन। यस परिस्थितिमा लौठ सल्लाको संख्या बृद्धि गर्ने कार्य वीउको सट्टा वानस्पतिक प्रसारण (Vegetative Propagation)बाट मात्र संभव देखिन्छ।

बीउ संकलन

लौठ सल्लाको भाले र पोथी वोट छुट्टा छुट्टै हुने र यसको फलको वरिपरि रहने रातो रङ्गको एक मात्र खाद्य वस्तु (Aril) चराहरू द्वारा खाइने हुँदा यसको विउवाट विरुवा उत्पादन गर्न निकै कठिन हुन्छ। राम्रो स्वस्थ्य जवान रुखवाट राम्ररी पाकेको फल संकलन गरी पानी भएको एउटा भाँडोमा राख्ने र फलको चिल्लोपना भएको गुदी (Pulp) नहटुन्जेल मज्जाले मुछ्ने,माड्ने र फेरी पानी सहितको अर्को भाँडोमा फललाई राख्ने तथा चिल्लोपना नहटुन्जेल यसै क्रमले सफा गर्दै जाने एवं सफा भई सकेको फललाई सफा भाँडोमा राखी छहारीमा सुकाउने र कपडामा पोको पारी चिसो ठाउँमा भण्डार गरेर राख्ने। शीत भण्डारमा टिनमा प्याक गरी धेरै वर्षका लागि यसको विउ सञ्चय गरी राख्न सकिन्छ। बीउलाई छर्नु अघि जाडो महिना भरी वालुवा माथि चिसो ठाउँमा फिजाएर (Stratification) राख्नु पर्दछ।

विरुवा तयार गर्ने तरिका

हुन त यसको बिउबाट पनि वेर्नाहरू तयार गर्न सकिन्छ ता पनि बिउ उम्रन निकै समय र श्रम लाग्ने भएकालै यसको विरुवाहरू कटिङ्गबाटै उत्पादन गर्ने गरिन्छ। यसको एक वर्ष वा सोभन्दा पुराना हाँगाहरूबाट कटिङ्ग राख्ने गरिन्छ। धेरै मोटा हाँगा भएमा पनि त्यति राम्रो जरा आउदैन , त्यसकारण १ देखि ३ वर्ष पूराना हाँगाहरूबाट कटिङ्ग राख्नु उपयुक्त हुन्छ। हिँउदे याममा विरुवा पलाउनू भन्दा अघि वा वर्षा याममा कटिङ्ग राख्न सकिन्छ। खासगरि माटोमा भन्दा वालुवामा राम्ररी जरा दिइएको पाइएको छ। करीब १५ से. मी . लामा हाँगाहरूलाई फेद र टुप्पोतिर छड्के पारेर काटी पानीमा डुवाई राख्ने र वालुवा बढी भएको व्याडमा ४५०को कोण गरी छड्के पारेर गाडिन्छ। सकभर छायाँ दिनु पर्छ। हिँउदे यामको कटिङ्गबाट अलि ढिलो जरा आउँछ भने वर्षे यामको कटिङ्गबाट ३÷४ हप्ता भित्रमा जरा निस्कन शुरु गर्दछ। जरा आइसकेका कलमीहरूलाई पोलीव्यागमा सारेर छायाँमा राख्ने गरिन्छ। यसरी उत्पादित वेर्नाहरू १ वर्षसम्म नर्सरी मै राखिन्छन् र अर्को वर्षा याममा जमीनमा सार्ने गरिन्छ।

 

यसरी उत्पादित वेर्नाहरूलाई फिल्डमा सार्नको लागि फिल्डको तयारी गर्नुपर्दछ। यसलाई चिया वगानको जस्तो झाडीको रूपमा विकास गरेर खेती गर्न सकिने कुरा ज्ञात भएको छ। पहिला जमीनलाई खनजोत गरी राम्रोसँग मल राखेर जमीनको तयारी गर्नु पर्दछ। विरुवा लगाउँदा विरुवादेखि विरुवाको फरक एक /एक् मीटरको र लहर देखि लहरको फरक १.५ मीटर गरेर लगाउँदा विरुवा राम्ररी फस्टाउँछ।

 

विरुवाहरू एक वर्षका भएपछि यिनीहरूलाई काँटछाँट गर्नुपर्दछ। यसो गर्दा विरुवामा धेरै हाँगा निस्कन्छन्। यसरी प्रत्येक वर्ष छाँट्दै जाँदा करीब ४ वर्ष पछि विरुवाहरूबाट पातहरू /डाँठहरूको उत्पादन लिन सकिन्छ। प्रत्येक वर्ष गाइवस्तुको मल थप्दै जाँदा विरुवाहरू राम्ररी हुर्कन्छन्।

हालसम्म व्यवसायिक खेतीको प्रचलन नभइसकेकोले वार्षिक उत्पादनको आँकडा उपलब्ध छैन। चिया वगानको रूपमा विकास गरी वर्षको दुई पटक हाँगाहरू काँट छाँट गरी बाली भित्र्याउन सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्