Logo

Banner-news

टेलिकमको २६% सेयर जनतामा लैजाने घोषणाले किन डराए लगानीकर्ता ?


appharu
   २० माघ २०७५, आइतबार


काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणमा लैजाने सरकारको घोषणाले धितोपत्रको दोस्रो बजार तरंगित भएको छ ।

आइतबार बजार बन्द हुने बेलासम्म टेलिकमका ३ करोड ५५ लाख २१ हजार रुपैयाँ मूल्य बराबरका ४९ हजार ८ सय ६१ कित्ता सेयर किनबेच भइसकेका छन् भने कम्पनीको सेयर ८४ पटक किनबेच भएको छ ।

कम्पनीको सेयर बिक्री ट्रेन्ड हेर्दा लगानीकर्ता डराएको देखिन्छ । उनीहरुले मूल्य १९ रुपैयाँसम्म कममा अर्थात प्रतिकित्ता ७१० रुपैयाँसम्ममा सेयर बिक्री गरेका छन् । सर्वसाधारणमा सेयर स्वामित्व बढी हुनेवित्तिकै दोस्रो बजारमा मूल्य घट्ने गरेको अन्य कम्पनीको इतिहास दोहोरिने आशंकामा लगानीकर्ता त्रसित भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिए पनि सो दिन बजार बन्द भइसकेकाले आइतबार यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो ।

मन्त्री बाँस्कोटाका अनुसार सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत सरकारको स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने र बाँकी ६६ प्रतिशतमात्रै सरकारले राख्न लागेको हो ।

टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ ।

कम्पनीमा बढीभन्दा बढी जनताको स्वामित्व होस् भन्ने सरकारको चाहनाबमोजिम सेयर बिक्री गर्ने योजना बनेको मन्त्री बाँस्कोटा बताउँछन् । उनका अनुसार मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशका नागरिकसहित व्यावसायिक घरानालगायतलाई स्वामित्व दिनेगरी छलफल भइरहेको छ ।

त्यसो त सर्वसाधारणमा सेयर हिस्सा बढाउने भनिए पनि नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने विषय पनि उत्तिकै चर्चामा छ । तर, नयाँ साझेदारलाई ४९ प्रतिशत सेयर दिने कि व्यवस्थापनमात्र जिम्मेवारी दिने भन्ने पनि अन्योल छ ।

४९ प्रतिशत रणनीतिक साझेदारलाई दिएमा सरकारको सेयर स्वामित्व नै अल्पमतमा पर्नेछ । मन्त्री बाँस्कोटा भने टेलिकम टाट पल्टिएको कम्पनी नभएकाले यसको व्यापार विस्तारको लागि सेयर बेच्ने वा रणनीतिक साझेदार भित्र्याउने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् ।

१५ अर्ब पुँजी रहेको टेलिकममा भ्वाइस ग्राहकको संख्या २ करोड १० लाख छ भने डेटा ग्राहक ७६ लाख रहेका छन् । कम्पनीको कुल बजारमा ५३ प्रतिशत हिस्सा रहेको छ ।

प्रकाशित : २० माघ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह