Logo

Banner-news

बिस्कुट उद्योगमा एफडीआई रोक्न व्यवसायीको लबिङ, आयातित बिस्कुट पनि गुणस्तरहीन


GDP Nepal
   २३ माघ २०७५, बुधबार


काठमाडौं । स्वदेशी आवश्यकताअनुसार बिस्कुट उत्पादन गर्न आफूहरु सक्षम रहेको भन्दै व्यवसायीहरुले वैदेशिक लगानी रोक्न सरकारसँग लबिङ थालेका छन् ।

नेपाल बिस्कुट उत्पादक संघले स्वदेशी बिस्कुट उद्योग बचाउन बिस्कुट उद्योगमा बैदेसिक लगानी बन्द गर्न आग्रह गरेको हो । संघका अध्यक्ष वसन्तकुमार चौधरीको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई भेटेर बिस्कुट उद्योगमा परेका समस्याबारे जानकारी दिँदै वैदेसिक लगानी नभित्र्याउन माग गरेको छ ।

उद्योग बाणिज्य तथा आपूति सचिव, मन्त्रालयका उच्च अधिकारीलगायत उद्योग विभागका महानिर्देशकलाईसमेत संघले स्वदेशमै मागअनुसारको पूर्ति गर्न सक्ने क्षमता भएकाले अबदेखि बिस्कुट उद्योग बैदेसिक लगानी निषेध गर्न आग्रह गरेको छ ।

केही वर्ष अघिसम्म ३५ वटा स्वदेशी बिस्कुट उद्योगमा कुल ७ अर्बको लगानी रहेकोमा आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण उद्योगहरू धमाधम बन्द भई हाल लगभग १६ वटाले मात्र आंशिकरूपमा बिस्कुट उत्पादन गर्दै आएको जानकारी गराउँदै टोलीले ती उद्योगको मात्र पनि ५ अर्बको लगानी रहेको जानकारी गराएको छ ।

हाल नेपालमा कुल उत्पादन जडित क्षमता ४ लाख टन भएकोमा बन्द भएका उद्योगलाई घटाउँदा आंशिक सञ्चालनमा रहेका उद्योगको जडित क्षमता वार्षिक १ लाख ९३ हजार टन रहेको छ । त्यसमध्ये पनि ३० प्रतिशत क्षमतामा (५८ हजार टन) सञ्चालन भएको छ । तर हाल नेपालको कुल बिस्कुटको बजार साइज १ हजार २ सय करोडको भएको छ ।

स्वदेशी बिस्कुट उद्योगले मात्र नेपालमा कारोबार गर्दा पनि ५० प्रतिशत क्षमता सञ्चालन गर्दा वर्तमान बजारको मागलाई पूर्ति गर्ने क्षमता नेपाली उद्योगसँग छ भन्दै आन्तरिक उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थलगायतका सामान उद्योगको उत्पादन प्रयोजनका लागि ल्याउँदा कमसेकम नेपाल सरकारको निकायले पाउने सुविधा उपलब्ध गराउन पनि संघले माग गरेको छ ।

संघले उद्योगलाई उत्पादन प्रयोजनका लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध जस्तै चिनी तथा धूलो दूध आयातमा फुकुवा गर्न माग गरेको छ । साल्ट ट्रेडिङले पाउँदै आएको चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुविधा बिस्कुट उद्योगले पनि पाउनुपर्ने माग संघको छ ।

संघले नेपालमा उत्पादन गर्ने बिस्कुटको कच्चा पदार्थ ९५ प्रतिशत स्वदेशमै तयार हुने गरेकोमध्ये पनि करिव ७० प्रतिशत कृषिजन्य उत्पादन हुने गरेको जनाएको छ । बिस्कुट उद्योगलाई पनि विषेश प्राथमिकताभित्र राखेर सहुलियत उपलब्ध गराउन संघले ध्यानाकर्षण गराएको छ ।

संघले विदेशबाट आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै त्यस्ता वस्तुको गुणस्तरसमेत नभएको दाबी गरेको छ । उपभोक्ताको जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले त्यस्ता वस्तुको आयातमा एन्टि डम्पिड ड्युटी लगाई निरुत्साहित गर्र्न संघले माग गरेको छ ।

प्रकाशित : २३ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह