Logo

Banner-news

विमानस्थलमा रक्सी जफत गर्नु गलत हो ? एनआरएनए पनि गलत हल्ला फैलाउँदै !


GDP Nepal
   ४ फाल्गुन २०७५, शनिबार


काठमाडौं । यतिबेला मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा ल्याइएका सामान भन्सार प्रशासनले जफत गरिरहेको खबरले सनसनी मच्चाएको छ । अधिकांशले यसलाई कामदारको उपहारमाथि सरकारले आँखा लगाएको भन्दै आलोचना पनि गरेका छन् ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था बाहिर प्रचार गरिएजस्तो छैन । विमानस्थलमा रहेको भन्सार कार्यालयले प्रतिव्यक्ति १ लिटरसम्म मदिरा ल्याउन दिएको छ भने एक जनाले ३ वटासम्म मोबाइल सेट ल्याउने सुविधा पनि दिइरहेकै छ । यस्तै, ७ किलोग्रामसम्म चकलेट वा खाद्यवस्तु ल्याउन पनि छुट दिएको छ ।

तर, विगतमा विमानस्थलको भन्सारले बेवास्ता गर्दा एकै व्यक्तिले ३ बोतलसम्म मदिरा तथा आधा दर्जनसम्म मोबाइल सेट ल्याउने गरेका थिए । कानुनतः काँचो सुन र मदिराबाहेक अन्य वस्तुको भन्सार तिरेर पनि आफैंले ल्याएका सामान छुटाउन पाउने व्यवस्था छ ।

विदेश जानेले उपहारमा ल्याउने कपडाको हकमा एक व्यक्तिका लागि १५ सेटसम्म नयाँ कपडा ल्याउने छुट दिइएकाले यसमा पनि समस्या देखिँदैन ।

तर, विगतमा निष्फिक्री सामान ल्याउने र यसैलाई पेशा बनाउनेहरुको भने धन्धा चौपट भएको छ र उनीहरुले यसलाई आलोचनाको विषय बनाएका छन् । यहाँसम्म की विदेशमा काम गरेर फर्किएकाहरुको नाम जोडेर यस्तो धन्धा गर्नेहरुले आलोचना गर्ने गरेको पाइन्छ ।
आम नेपाली कामदारलाई विमानस्थलको यो कारबाहीले समस्या पारेको छैन । तर, गैर आवासीय नेपाली संघ (एनआरएनए ) भने यो केसमा अनावश्यक रुपमा मुछिएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रवक्ता भूषण घिमिरेले बिहीवार एक बिज्ञप्ति जारी गर्दै लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको जनाएका छन् ।

विज्ञप्तिमा रेमिट्यान्समार्फत मुलुककै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरुप्रति समेत नकारात्मक भावना उत्पन्न गरेको हामीले महशुश गरेको उल्लेख छ ।

संघले झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयां नियम लागु गर्नु भन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने जनाएको छ ।

तर, सरकारले नयाँ कानुन ल्याएको नभै पुरानैको कार्यान्वयनमात्र गरेको देखिन्छ ।
जानअनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउनु उपयुक्त हुने पनि उल्लेख छ ।
यद्यपि, एनआरएनएले भनेजस्तै व्यवस्था अहिले पनि छ । रक्सी र सुनबाहेक सबै बस्तु भन्सार शुल्क तिरेर ल्याउन सकिन्छ ।

प्रकाशित : ४ फाल्गुन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह