Logo

वरिष्ठ अर्थशास्त्री प्रा. डा. मदन दाहालको टिप्पणी: अर्थतन्त्र दयनीय र भयावह अवस्थामा छ !




  • प्रा. डा. मदनकुमार दाहाल

नेपाल राष्ट्र वैंकवाट हालै प्रकाशित चालु आ. व. २०७५/७६ को ६ महिनाको समष्टिगत सूचकांकको आधारमा विश्लेषण गर्दा मुलुकको अर्थतन्त्र दयनीय र भयावह रहेको छ: 


(१) मुद्रा स्फितिको दर ४.६% रहेको छ र तुलनात्मक रूपमा मंहगी धेरै नवढेको देखिए पनि वजारमा उपभोग्य लगायत सवै वस्तुहरुको खुद्रा मूल्य अनियन्त्रित रूपमा वढेको छ। औपचारिक अर्थतन्त्र अनुमानित ४०% रहेको र भारत संग खुला सीमाना भएकोले यो महंगीको दर उत्पादनमा होइन आयातमा आधारित छ।

(२) व्यापार घाटा कहाली लाग्दो रूपमा वढेर रू. ६७८.५ अर्व पुगेको छ र कुल निर्यात (रू. ४५.४ अर्व) ले एउटा वस्तु पेट्रोलियम पदार्थको आयात (रू १०३.२ अर्व) पनि धान्न सक्तैन; निर्यात-आयातको अनुपात ६:९४ रहेको छ

(३) चालु खाता घाटा वढेर रू. १५२.२ अर्व पुगेको छ र शोधनान्तर स्थिति अप्रत्यासित रूपमा रू. ६३.७ अर्वले ॠणात्मक रहेको छ।

(४) वैदेशिक मुद्राको संचिति घटेर रू. १,०५८.२ अर्व पुगेको छ र यो संचितिले ७.८ महिनाको वस्तु तथा सेवा मात्र आयात गर्न पुग्छ।

(५) ‘रेमिटेन्स’ डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएकोले केही वढन गै रू. ४४३.३ अर्व मात्र पुगेको छ।

(६) चालु आ. व. २०७५/७६ को ६ महिनाको अवधीमा कुल वार्षिक वजेट विनियोजन रू. १,३१५ अर्व मध्य २५.९% मात्र खर्च भएको छ; साधारण खर्च तर्फ विनियोजित रकम रू. ८४५.४ अर्व मध्य ३१.९% मात्र खर्च भएको छ; यसै गरी पुंजीगत (विकास) खर्च तर्फ विनियोजित रकम रू. ३१४ अर्व मध्य १४.६% मात्र खर्च हुन सकेको छ र वित्तीय व्यवस्थापन तर्फ रू. १५५.७ अर्व मध्य रू १५.१% मात्र खर्च भएको छ; राष्ट्र वैंकको प्रतिवेदनमा यस अवधीको पुंजीगत खर्च कति भयो स्पष्ट उल्लेख छैन।

(७) चालु आ.व. मा प्रक्षेपण गरिएको राजस्व (रू. ९४५.५ अर्व) परिचालन सकारात्मक (रू. ४११.१ अर्व – ४३.५%) रहे पनि राजस्वको संरचना भन्सार महसुल र ‘भ्याट’ जस्ता अप्रत्यक्ष करमा आधारित छ र यसको मार न्यून आय भएका वर्गलाई पर्दछ। राजस्व परिचालनले साधारण खर्च मात्र धान्न पनि गाह्रो र पुंजीगत खर्च अपुग भएकोले वजेट निर्माण गर्दा प्रत्येक वर्ष आन्तरिक तथा वाह्य ॠणमा आश्रित हुनु परेको छ। राजस्व र कुल गार्हस्थ्य उत्पादनको अनुपात (३१.५%) दक्षिण एसियाका मुलुकहरूको तुलनामा उच्च रहेको छ।

(८) विगत ६ महिनामा Nepse Index १,२३४.१३ वाट घटेर १,११२.८७ पुगेको छ र यसवाट शेयरमा लगानी गर्नेहरू निरूत्साहित भएका छन्। पुंजी वजारमा सुधार हुन सकेको छैन। त्यस कारण वैंक तथा वितीय संस्थाहरूमा लगानी योग्य कर्जाको अभाव छ। परिणाम स्वरूप व्याज दरमा निरन्तर उतार चढाव भै रहेको छ। यो अर्थतन्त्रको राम्रो लक्षण होइन ।

(९) सवै समष्टिगत सूचकांकहरू नकारात्मक रहेकोले चालु आ.व. मा प्रक्षेपण गरिएको ८% को आर्थिक वृद्धि दर हांसिल हुन सक्तैन। (१०) अन्तरराष्ट्रिय स्तरमा तुलना गर्दा नेपाल विश्वको चौथो गरीव राष्ट्र हो र त्यसै गरी अरू मुलुकको तुलनामा नेपालको GDP, GNI Per Capita, Global Competitive Index, Human Development Index (HDI), Doing Business Index, Corruption Perception Index (CPI) र Gross Happiness Index अत्यन्त कम छ।

(१०) तसर्थ आत्मरतिमा डुवेर सम्बृद्धिको कुरा गर्नु भन्दा मुलुकको मौजुदा दयनीय आर्थिक स्थितिलाई स्वीकार गर्दै यसमा कसरी सुधार गर्ने र कसरी आर्थिक विकास र सम्वृद्धिको वाटोमा लम्कने तर्फ प्रयत्न हुनु पर्दछ।

(११) आगामी पञ्च-वर्षिय योजनामा अवकोआर्थिक विकासको उद्देश्य, लक्ष्य, नीति र रणनीति स्पषट रूपमा दिग्दर्शित हुनु पर्दछ।

(१२) विक्षिप्त आर्थिक स्थितिलाई कति ढाक-छोप गर्ने? यो पुरानै रोगको निरन्तरता हो। विसंगतिहरू स्वीकार गर्ने हिम्मत हुनु पर्दछ र अनि मात्र सुधारको गुञ्जायस रहन्छ।

(१३) कृषि क्षेत्रको उत्पादन र निर्यातमा अभिवृद्धि, पर्यटन, जल-विद्ध्युत लगायत संभाव्य साना तथा घरेलु एवं मझौला उद्ध्योगहरूको विकास र भौतिक पूर्वाधारमा निजी र वैदेशिक लगानी प्रवर्द्धन र भ्रष्ट्राचार कडाईका साथ नियन्त्रण गरिनु पर्दछ।

(१४) हाम्रो अर्थतन्त्र रेमिटेन्स, आयात र थोरै अंशमा वैदेशिक सहयोगमा निर्भर छ।

(१५) आयातमा आधारित मंहगी नियन्त्रण, स्वदेशमा रोजगारी प्रवर्द्धन, जन-शक्तिको गुणस्तर अभिवृद्धि र संभाव्य क्षेत्रको आधारमा मुलकको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय र विश्व अर्थतन्त्र संग जोडेर उच्च, दीगो र समावेशी आर्थिक वृद्धि दर हासिल गर्नु नै हाम्रो अर्थतन्त्रको मुख्य चुनौति हो।

अव हामीले अशातित रूपमा मर्यादापूर्वकको आर्थिक विकास गर्न सकेनौं भने मुलुकको अस्मिता जोखिममा पर्ने निश्चित छ। जय राष्ट्र ! जय जनता !! 

प्रस्तुत आलेख प्रा. डा. दाहालको फेसबुकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्