Logo

Banner-news

निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले भेट्ने समय दिएनन्, व्यवसायी आक्रोशित


GDP Nepal
   ५ फाल्गुन २०७५, आइतबार


धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने निर्माण व्यवसायीहरुको प्रयास असफल भएको छ । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले महिनौंदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरिरहे पनि उनको सचिवालयले समय उपलब्ध नगराएको अध्यक्ष रवि सिंहले जानकारी दिए ।

महासंघको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट निर्माण व्यवसायीहरु पराजीत भएका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट व्यवसायीहरुको समूह विजयी भएको थियो ।

मुलुक निर्माणमा निजी क्षेत्रको भूमिकालाई प्रबद्र्धन गर्ने भाषण गरेर नथाक्ने प्रधानमन्त्रीले विकास निर्माणका मुख्य साझेदार निर्माण व्यवसायीलाई भने राजनीतिक आस्थाकै आधारमा भेट नदिएको व्यवसायीको बुझाइ छ ।

काभ्रेको धुलिखेलमा शनिबार भएको नवौं राष्ट्रिय भेलामा अध्यक्ष सिंहले प्रधानमन्त्रीले समय नदिएको भन्दै सार्वजनिक रुपमै रोष प्रकट गरे । अध्यक्ष सिंहले भने– व्यवसायीहरुको समस्या अवगत गराउन लामो समयदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास सफल हुन सकेको छैन ।

कार्यक्रममा पुराना निर्माण व्यवसायीहरुले व्यवसायिक एकता नै आजको आवश्यकता भएको बताए् । दुई तिहाइको सरकार बनेको एक वर्ष बितिसक्दा समेत निर्माण क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उनीहरुले गहिरो चिन्ता समेत व्यक्त गरे ।

महासंघको एसोसिएट सदस्य समन्वय कार्य समितिको नवौं राष्ट्रिय भेलाको उद्घाटन अवसरमा उनीहरुले निर्माण क्षेत्रमा निरन्तर गम्भीर चुनौतिहरु थपिँदै गएको विश्लेषण गरे ।
अध्यक्ष सिंहले देशभरका निर्माण व्यवसायी एक भएमा जस्तोसुकै चुनौति पार लगाउन सकिने बताए । विगतका तिता–मीठा सबै कुरा बिर्सदै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको सिंहको भनाइ थियो । महासंघ साना व्यवसायीहरुको समस्यामा निकै संवेदनशील रहेको भन्दै उहाँले रचनात्मक सुझावका लागि सबै समक्ष आग्रह गरे ।

यस्तै, महासंघका मानार्थ सदस्यसांसद जीपछिरिङ लामा शेर्पाले अहिले व्यवसायीहरुका लागि प्रतिकूद अवस्था सिर्जना भएकाले सबै चनाखो हुनुपर्ने धारणा राखे ।

महासंघका सल्लाहकारहरु रमेश शर्मा र सुकुन्तलाल हिराचनले निर्माण व्यवसायीको योगदानलाई राज्यले कदर गर्न नसकेको टिप्पणी गरे । पूर्वअध्यक्ष यक्षध्वज कार्की तथा निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ नेतृत्वले सबै खाले व्यवसायीलाई समेट्नु पर्ने धारणा राखे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले मुलुक निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले समय सापेक्ष ढंगले व्यवसायीहरुसँग सम्बन्धित् ऐन नियम परिमार्जन गर्न लागिएको जानकारी दिए ।

एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक आङ दोर्जी लामा (ए.डी) ले महासंघका सबै गतिविधिमा आफ्नो नेतृत्वको समितिको सक्रिय सहभागिता रहने बताए । वरिष्ठ उपाध्यक्ष निकोलस पोण्डेले निर्माण व्यवसायीहरु भौतिक पूर्वाधार निर्माणका मेरुदण्ड भएको धारणा राखे ।

कार्यक्रममा महासंघको २० औं साधारण सभा तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्य समितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच, महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको निर्विरोध चयन भएको छ । रामजी पन्त (मुकेश)सह–सहंयोजक रहेको कार्य समिति निर्विरोध चयन भएको हो । एसोसिएट सदस्य समन्वय कार्य समितिको संयोजक भने महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) छन् ।

एसोसिएट सदस्य समन्वय कार्य समितिको सचिवमा नवराज श्रेष्ठ, उपसचिवमा मोहन कार्की, कोषाध्यक्षमा शिवशक्ति भट्टराई तथा सहकोषाध्यक्षमा लक्ष्मी बस्नेत निर्विरोध भए । सदस्यहरुमा भने खड्गबहादुर बुढाथोकी, इन्जिनियर प्रदीप कुमार खत्री, अनिल कुवँर, कृवेश श्रेष्ठ, उमेशध्वज थापा, तेण्डी शेर्पा, तुलसीराम भण्डारी, नवीनकुमार झा, गोकर्ण राउत, दिवाकर लामिछाने र केशव त्वानावासु निर्विरोध भए ।

प्रकाशित : ५ फाल्गुन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह