Logo

Banner-news

शिवम् सिमेन्टको आईपीओ खुल्यो, पूरै बिक्ला त ?


GDP Nepal
   ६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको सेयर निकै न्यून रहेको र यसलाई बढाएर अर्थतन्त्रको वास्तविक ऐना बनाउनुपर्ने आवाज उठिरहेका बेला शिवम् सिमेन्टले साधारण सेयर बिक्री खुला गरेको छ ।

शिवमले प्रिमियम मूल्यमा सेयर बिक्री खुला गरेसँगै यसको पूरै सेयरमा आवेदन पर्छ कि पर्दैन भन्ने विभिन्न अड्कलबाजी भइरहेका छन् । स्थानीयले समेत खासै रुचि नदेखाएको शिवमको आईपीओ पूरै बिक्री हुनेमा सेयर बजारका ज्ञाताहरु नै विश्वस्त छैनन् ।

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा शिवमकोे प्रतिसेयर सय अंकित दरमा प्रिमियमबापत २ सय रुपैयाँ थप गरी प्रतिसेयर ३ सय रुपैयाँ मूल्य तोकिएको छ ।

शिवमले ४१ लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणका निमित्त सोमबारदेखि बिक्री खुला गरिएको जनाएको छ ।

शिवमले आयोजना प्रभावित क्षेत्र मकवानपुरका बासिन्दाहरूका लागि पनि पुनः निष्कासन खुला गरेको छ । यसअघि ३ सय रुपैयाँमा ८ लाख ८० हजार कित्ता सेयर निष्कासन गरी २ लाख २ सय ४० कित्तामात्र आवेदन परेको थियो ।

हाल तोकिएको निष्कासन मूल्यबमोजिम बाँडफाँड भएका सेयरधनीहरूलाई कुल १ लाख १ सय २० कित्ता सेयर थप प्रदान गरिने र बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ता सेयर २ सय रुपैयाँमा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप म्याद दिने जनाइएको छ ।

सार्वजनिक निष्कासनमा न्यूनतम ५० कित्ता तथा अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री खुला गरिएको छ ।

शिवमको सार्वजनिक निष्कासनमा एनआइबीएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सिविआइएल क्यापिटल लिमिटेड प्रत्याभूतिकर्ता छन् । जसले बिक्री नभएको सेयर आफैं सकार्नेछन् ।

प्रकाशित : ६ फाल्गुन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह