Logo

ट्रेडिङमा नलाग्ने एकमात्र व्यवसायी पवन गोल्यान भन्छन्– कृषिमै भविश्य छ !




काठमाडौं । पवनकुमार गोल्यान नेपालको उत्पादनमूलक क्षेत्रका लागि पर्यायजस्तै नाम हो । रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डस्ट्रिज तथा शिवम् प्लास्टिकलगायतका निकासीजन्य उद्योग सञ्चालन गरिरहेका गोल्यान एनएमबी बैंकका अध्यक्षसमेत हुन् ।

छोटो समयमा नाफा कमाउने अर्थात ट्रेडिङ व्यवसाय निकै फस्टाइरहेका बेला गोल्यान भने लामो यात्रामा छन् अर्थात– उद्योग । नेपालमा आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापारघाटा बर्सेनि कहालीलाग्दो रूपमा बढिरहेको छ ।

व्यापारघाटा घटाउनुपर्छ भनेर सबैले भन्छन् तर यसका क्षेत्रमा काम भने कमैले गर्छन् । अरुले व्यापार घाटाप्रति देखावटी चिन्ता गरिरहँदा गोल्यान भने सम्भावनाको खोजीमा कहिले झापा पुगेका छन् त कहिले रोल्पा ।

हुन त उनले समयअनुसारको व्यवसाय गर्ने भन्दै हाउजिङ पनि नगरेका होइनन् । तर, पर्यटनबाटै समृद्धि भनेर हाउजिङको प्रोजेक्टलाई होटलमा डाइभर्टसमेत गरिरहेका उनी मुलुककै सबैभन्दा ठूलो कृषि उद्यमी बन्ने दौडमा छन् ।

पूर्वी नेपालको झापामा २ सय बिघाभन्दा बढी क्षेत्रफलमा बिषादीमुक्त खेती गरेर र किसानको पनि हात डो¥याएर अघि बढेका छन् गोल्यान ।

प्रस्तुत छ गोल्यानको अनुभवः म किन कृषिमा लागेँ ?
हामीले सानैदेखि नेपाल कृषिप्रधान देश हो भन्ने पढ्दै आएका छौं र नेपालका झन्डै दुईतिहाइ जनता कृषिमै आश्रित छन् भन्ने सरकारी तथ्यांक नै छ । तर, नेपालको कृषि उत्पादनको अवस्था हेर्ने हो भने सन्तुष्ट हुने ठाउँ छैन भने उपभोगको तथ्यांक हेर्ने हो भने यहाँ ठूलो मार्केट पनि छ । नेपालले चालू आर्थिक वर्षको ५ महिनामा झन्डै ९० अर्ब रुपैयाँको कृषिजन्य उत्पादन गरिसकेको छ । जबकि निर्यात ११ अर्ब हाराहारीमा मात्रै छ । हामी सधैं मुलुकमा व्यापारघाटा बढ्यो मात्र भनिरहन्छौं तर के कारणले बढ्यो र कसरी घटाउन सकिन्छ भन्नेमा त्यति चिन्तित देखिएनौं । त्यसैले पनि तथ्यांकगत आधारमा हेर्दा र सम्भावनाका दृष्टिले समेत नेपालमा कृषिक्षेत्रको प्रवद्र्धन र विकास जरुरी छ भन्ने हामीलाई महसुस भयो । यतिमात्र नभई कृषि पेसा नेपालमा उपेक्षित र अपहेलित पेसा भएको छ । हामी उद्योगी–व्यवसायीको कुरा त बरु सरकारले सुन्छ, तर ती किसानको कुरा नीति निर्माणको तहमा सुनिँदैन । नेपालका कृषि पेसाका समस्या र चुनौती के हुन् भनेर नीति निर्मातासम्म पुर्याउन पनि हामीजस्ता व्यावसायिक समूह यस क्षेत्रमा आउनु जरुरी छ । मुलुकको दिगो विकासका लागि हामीले मात्र नाफा कमाएर पुग्दैन र त्यो नाफा ठूलो संख्यामा रहेका किसानसम्म पुग्नुपर्छ भन्ने बृहत् सोचका साथ हामी यो क्षेत्रमा प्रवेश गरेका हौं ।

यस्तो हुनेछ कृषिमा हाम्रो मोडल
हामी कृषकसँग सहकार्य गरेर नै अघि बढ्ने हो । किसानले उत्पादन गरेका फलफूल तथा तरकारी आफैं खरिद गर्नेछौं, त्यो पनि लागतका आधारमा नाफाको सुनिश्चितता दिलाएर मात्रै । अहिले किसानले मूल्य नै नपाउने र बिचौलियाहरू मात्र मालामाल हुने प्रवृत्तिको हामी अन्त्य गर्नेछौं । किसानलाई उत्पादनमा सहयोग गरेर, बढीभन्दा बढी उत्पादकत्व कसरी हासिल गर्न सकिन्छ भनेर पनि विदेशबाट समेत प्राविधिक झिकाएर हामीले अहिले पनि सहयोग नै गरिरहेका छौं भने भोलिका दिनमा पनि आमकिसानले गर्ने खेतीमा हामी हात नै हाल्दैनौं । त्यसैले हामीबीच प्रतिस्पर्धा होइन, सहकार्य हुनेछ । बजारीकरण एउटै हुनेछ तर उत्पादन भने पृथक् ।

मैले देखेका कृषिका समस्या
कृषिमा धेरै समस्या छ तर कहाँबाट सुरु गरौं भन्ने हुन्छ । अहिलेको मूल समस्या भनेको ‘अन्डा पहिले कि कुखुरा पहिले’ भनेजस्तै नै हो । किसानले बजार पाएनन् भने उत्पादन गर्दैनन् भने बजारले पनि आवश्यकताअनुसार परिमाणमा किसानबाट तरकारी र फलफूल उत्पादन भएन भने खरिद गर्नै सक्दैन । यसैले पहिलो कुरा त मार्केट ग्यारेन्टी नै हो । किसानले आफ्नो लागतअनुसारको निश्चित मुनाफासहितको मूल्य पाउनुप(यो भने बजारको आवश्यकताअनुसार पनि उत्पादन हुनुप(यो । अर्कातर्फ नेपाली किसान खुला सीमाका कारण पारिबाट आउने उत्पादनले सधैं थिचिएका हुन्छन् र यसको अन्त्यका लागि सरकारसँग के माग्ने भन्ने ज्ञान पनि उनीहरूसँग हुँदैन । भारतले किसानलाई दिएको सुविधा नेपाल सरकारले नेपाली किसानलाई दिन त सक्दैन, तर त्यसको पनि विकल्प भने छ । हामीले उताबाट खुलेआम आउने वस्तु नियन्त्रण गर्नुपर्छ । प्रत्यक्ष भन्सार बढाउन नसकिएला तर अन्तःशुल्कदेखि क्वारेन्टाइनसम्मलाई प्रभावकारी रूपमा लागू गर्ने हो भने उताबाट आउने सामान स्वतः निरुत्साहित हुनेछ र नेपाली किसानको उत्पादन पनि बिक्री हुन थाल्नेछ ।

बिषादीमुक्त नेपाल बनाउने लक्ष्य
जथाभावी विषादी प्रयोगले कृषकहरू आफैं बिरामी भइरहेका छन् भने यस्तो वस्तु प्रयोग गर्ने नेपालीहरू पनि दिनहुँ रोगी भइरहेको तथ्यांक हामीबाट छिपेको छैन । यस्तो अवस्थामा पहिले विषादीमुक्त र केही वर्ष्भित्रै पूर्णतः अग्र्यानिक खेती आवश्यक हुन्छ । हामीले झापाका केही गाउँमा सेल्टर आश्रय नेपालसँगको सहकार्यमा हाम्रो सामाजिक संस्था जयन्त गोल्याण फाउन्डेसनमार्फत कृषकलाई अग्र्या्निक खेतीमा सहभागी पनि गरिरहेका छौं । यसको प्रारम्भिक परिणाम नै विषादी प्रयोग नगर्दा उत्पादनमा केही ह्रास आए पनि किसानहरूलाई वाकवाकी लाग्ने, टाउको दुख्ने तथा हाडजोर्नीलगायतका समस्यामा कमी आएको पाइएको छ । यसबाट उनीहरू पनि खुसीसाथ विषादीमुक्त अभियानमा सहभागी भएका छन् । रंगपुर, फूलगाँछी, गैरीगाँउ, महारानीझोडा, शिवशताक्षी र बुद्धशान्तिनगरमा नमुना गाउँ बनाउने काम सुरु भइसकेको छ । हामीले सामाजिक कामका रूपमा गाउँमा समूह बनाएर म स्वयं अध्यक्ष रहेको एनएमबी बैंकलगायतको सीएसआर प्रोजेक्टअन्तर्गत यस्तो अभियान सञ्चालन गरेकोमा यसबाट उत्साहजनक नतिजा आइरहेकाले अब आफैं पनि यसरी नै अग्र्यानिक खेतीतर्फ लागिरहेका छौं । यसका लागि हामीले झापाका तीन स्थान मदरगाछी, चकचके, घेराबारीलगायतमा २ सय बिघा जग्गा खरिद गरेका छौं । यी स्थानमा हामी मूलतः फलफूल र तरकारी खेती नै गर्नेछौं । कुन बाली लगाउन उपयुक्त हुन्छ भनेर अहिले माटो परीक्षणलगायतका कामहरू तीव्र गतिमा भइरहेका छन् । उत्पादनलाई प्राविधिक रूपमा सबल बनाउन हामीले उत्तर बंगाल विश्वविद्यालयका वैज्ञानिकहरू झिकाएर काम गरिरहेका छौं । हामीले आउँदो २ वर्षसम्म यसको आम्दानीबाट सस्टेनमात्र भए पुग्ने गरी परीक्षणमै बढी केन्द्रित छौं । त्यसपछि मात्र हाम्रो व्यावसायिक उत्पादन मास स्केलमा सुरु हुनेछ । हामीले सहकार्य गरेका किसानहरू पनि त्यतिबेलासम्म परिपक्व भइसक्नेछन् । त्यसपछि यो अग्र्या्निक उत्पादन भनेको धनीमानीहरूले मात्र खानुपर्छ र उनीहरू मात्र स्वस्थ हुनुपर्छ भन्ने सोचको पनि अन्त्य हुनेछ र कम लागतमै उत्पादन भएपछि नेपालीको पहुँचमा यो पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्