Logo

असल श्रम सम्बन्धका लागि संवाद र सहकार्यमा महासंघको जोड




काठमाडौं । निजी क्षेत्रले असल श्रम सम्बन्धका लागि संवाद र सहकार्यमा जोड दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने जनाएको छ ।

महासंघ अध्यक्ष भवानी राणाले नयाँ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको साथै श्रम सम्बन्धको विकासमा पनि ठूलो प्रभाव पार्ने हुँदा श्रम ऐनमा गरिएका व्यवस्था र यसको सफल कार्यान्वयनमा सबैको चासो हुनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तराष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनका वारे छलफल एवं जानकारी दिने उद्देश्यले बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले सो कुरा बताएका हुन ।
नेपाल अहिले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनको चरणमा छ । कार्यक्रममा महासंघका पदाधिकारीहरू, महासंघको सातै वटा प्रदेश च्याप्टका अध्यक्षहरू, अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका पदाधिकारीहरू र उद्यमी व्यवसायीहरू, श्रम रोजगार क्षेत्रका विज्ञहरूको सहभागिता रहेको
थियो ।

महासंघ अध्यक्ष भवानी राणाले रोजगारदाताहरू संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिदै असल श्रम सम्बन्ध विकास गर्न प्रतिवद्ध रहेको बताइन् । उनले भनिन्– श्रम ऐन २०७४ को संरचनामा धेरै समस्या छैन तथापी हाम्रो विगतको अध्यास, हाम्रो अर्थतन्त्र र व्यवसायको प्रकृतिले गर्दा यो ऐन कार्यान्वयनमा केही व्यवहारिक कठिनाई समेत भईरहेको सुनिनमा आएकोले सबै प्रतिष्ठान र क्षेत्रमा लागू हुने गरी श्रम ऐन निर्माण हुनु, ऐनमा कतिपय नयाँ प्रावधान राखिनु र श्रमिकहरूको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने भएकोले खास गरी साना उद्योग प्रतिष्ठानलाई अप्ठेरो पर्न गएको छ ।

राणाले नयाँ ऐनको कार्यान्वयनमा आउने कठिनाई र समस्याको अध्ययन र उद्योग प्रतिष्ठानबाट प्राप्त राय सुझावका आधारमा ऐन नियममा आवश्यक सुधारको लागि पनि गरिने पनि बताइन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले श्रम ऐन नियम र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा स्थानीय र प्रदेश उद्योग वाणिज्य संघको महत्वपूर्ण भुमिका रहने भएकाले महासंघको प्रदेश च्याप्टरहरूको क्षमता विकास गर्ने योजना अन्र्तगत छलफल कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।

रोजगारदाता परिषदका उप–सभापति भरतराज आचार्यले महासंघका प्रदेश च्याप्टरले श्रम सम्बन्ध, औद्योगिक विकास एवं रोजगारी सिर्जना जस्ता विषयमा प्रदेश सरकारका सम्बन्धित निकायसँग कार्य गर्नुपर्ने हुँदा श्रम ऐन, नियम लगायत श्रम सम्बन्धका अन्य विविध पक्षमा जानकारी दिन सातवटै प्रदेशमा तालिम तथा गोष्ठी आयोजना गर्न कार्यक्रम तय भईसकेको जानकारी गराए ।
आइएलओ नयाँदिल्लीका रोजगारदाता गतिविधि सम्बन्धी वरिष्ठ विशेषज्ञ रभिन्द्र पेरिसले रोजगारदाता र श्रमिक बीचको सौहाद्रपूर्ण वातावरणमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट नेपालको श्रम बजार सम्मानजनक बन्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्