Logo

मन्त्री अधिकारीको दुर्घटनाबाट के पाठ सिक्नु जरुरी छ ?




काठमाडौं । रवीन्द्र अधिकारी नेपाली राजनीतिमा संघर्षशील र अपेक्षाकृत सफल नेतृत्वको नाम हो । ताप्लेजुङ दुर्घटनामा उनको असमायिक निधनपछि उनको व्यक्तित्वबारे चर्चा भइरहे पनि उनको दुर्घटनापछि नेपाली समाजले सिक्नैपर्ने पाठका विषयमा भने कमैमात्र चर्चा छ ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाले नेपालका होनहार राजनीतिज्ञमात्र नभई उदाहरणीय व्यवसायी तथा केही राष्ट्रसेवकलाई असमयमै गुमाउनुपर्यो । नेपालको राजनीति, पर्यटन उद्योग, कर्मचारी प्रशासनलगायतका क्षेत्रका लागि यो एउटा कहिल्यै बिर्सन नसकिने क्षति त हुँदै हो, सँगसँगै यसबाट नेपालको पर्यटन क्षेत्रले भोलिका दिनमा बेहोर्नुपर्ने चुनौती झनै डरलाग्दो छ ।

त्यसै पनि युरोपेली युनियनले नेपाली आकाशलाई हवाई सुरक्षाका दृष्टिले न्यूनतम मापदण्डसमेत पूरा नगरेको भन्दै कालोसूचीमा राखिरहेका बेला बिहीबारको दुर्घटनाले उनीहरूको तर्कलाई बल पुगेको छ । हामीले जतिसुकै हवाई सुरक्षाका कुरा गरिरहे पनि हवाई सुरक्षाको नीतिगत नेतृत्व गर्ने राजनीतिज्ञ र सबैभन्दा ठूलो सेवाप्रदायक कम्पनीका सञ्चालक नै हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउनुपर्ने अवस्थाले नेपाली आकाशप्रतिको पश्चिमा अध्ययन तथा दृष्टिकोण कतै सही त थिएन भन्ने प्रश्न उठेको छ ।

निश्चय पनि दुर्घटनाको पूर्वजानकारी हुँदैन, तर त्यसको नियन्त्रणका लागि पूर्वतयारी भने गर्न सकिन्छ । काठमाडौंबाट तेह्रथुमका लागि उडेको हेलिकप्टर खराब मौसमका बीचमा पनि कार्यक्रम सकेर किन काठमाडौं नफर्की पाथीभरा पुग्यो ? पाथीभराको मौसम पनि अनुकूल नहुँदा–नहुँदै किन जबर्जस्ती उडाइयो तथा हेलिकप्टरमा सात जनासम्म यात्रु प्राविधिक दृष्टिले ठीक हो कि हैन भन्नेजस्ता विषयमा ठोस अध्ययन नभई यसै भन्न सकिँदैन ।

तर, भीआईपी उडानमा खराब मौसम नै भए पनि जबर्जस्ती उडानका लागि पाइलटलाई बाध्य पार्नेलगायतका घटना हिजोका दिनदेखि नै हुँदै आएकाले हवाई सुरक्षासँग सम्झौता भइरहेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । यसर्थ, सरकारले गठन गरेको जाँचबुझ आयोगले हरेक विषयलाई सूक्ष्म अध्ययन–अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनु उत्तिकै आवश्यक छ ।

नेपालमा हवाई दुर्घटनाको दर निकै बढी छ । मूलतः सुगम क्षेत्रमा उडान गर्ने जहाजहरू सुरक्षित नै जस्तो देखिए पनि दुर्गम क्षेत्रमा यो समस्या बढी नै छ । दुर्गमका लागि सबैभन्दा छिटो यातायात सुविधा भनेकै हेलिकप्टर वा हवाईजहाज भएकाले सोही क्षेत्रमा केन्द्रित भएर उडान हुने कम्पनीकै संख्या बढिरहेको छ । यसले पनि नेपालको हवाई सुरक्षा चुनौतीपूर्ण बनेको छ । अर्कातर्फ नेपालको मौसम प्रक्षेपण गर्ने निकायको प्रभावकारिता नहुँदा पनि सम्भावित दुर्घटनाबाट पूर्वसतर्कता राख्न सकिएको छैन ।

त्यसो त मुलुकको ७० वर्षे हवाई इतिहासमा ८५ वटाभन्दा बढी जहाज दुर्घटना भएका छन् । जहाज दुर्घटनामा परी झन्डै ७ सयले ज्यान गुमाइसकेको अवस्था पनि छ । सन् १९५५ को मार्चमा कालिंगा एयरको डीसी–३ जहाजबाट सुरु भएको यस्तो दुर्घटनाको श्रृंखला ताप्लेजुङ दुर्घटनासम्म आइपुग्दा कुनै पनि छानबिन गम्भीर रूपमा भएको र सो छानबिनका प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइएको पाइएको छैन ।
राज्यका विभिन्न संयन्त्रहरू जसरी तदर्थवादी शैलीमा चलिरहेका छन्, ठीक त्यसैगरी हवाई सुरक्षाका क्षेत्रमा काम भइरहेका छन् । वर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीन गएका बेला एउटा एयरलाइन्सको परीक्षण उडानसमेत नगरी राजकीय भ्रमणमा जहाज प्रयोग भएका जस्ता दर्जनौं घटना नजिरका रूपमा छन्, जहाँ हवाई सुरक्षाको उपहास भएको नहोस् । यसैले हवाई सुरक्षाको न्यूनतम मापदण्डप्रति हरेक निकाय उत्तिकै सजग र जिम्मेवार बन्न सकेमा ताप्लेजुङ दुर्घटना नै मुलुकको अन्तिम पीडादायी घटना हुन सक्नेछ र स्व. अधिकारी, शेर्पालगायतप्रति सच्चा श्रद्धाञ्जली पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्