Logo

Banner-news

लगानी बोर्डलाई शक्तिशाली बनाउने ऐनमा कांग्रेस सशंकित, प्रतिपक्षलाई बोर्डमा राख्न माग !


GDP Nepal
   २८ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल लगानी बोर्डमा प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेतालाई पदेन सदस्य बनाउनुपर्ने माग राखेको छ ।

बोर्डलाई अधिकारसम्पन्न बनाउन सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसदहरुले यस्तो माग राखेका हुन् ।

कांग्रेस सांसदहरु दीव्यमणि राजभण्डारी र गगनकुमार थापाले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्डमा प्रतिपक्षी दलका नेतालाई सहभागी गराउन माग गरे ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने बोर्डले सबै विकासे मन्त्रालयहरुको अधिकार कटौती गर्दै ठूला परियोजनाहरु प्रधानमन्त्री मातहत ल्याएपछि कांग्रेस सशंकित छ । ठूला परियोजना निर्माणमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै कांग्रेसले बोर्डमा आफ्नो पनि प्रतिनिधित्व माग गरेको हो ।

यसैबीच, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि संसदमा छलफल शुरु भएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३ सांसदले संशोधन दर्ता गराएका छन् ।

लगानी बोर्डमार्फत् पूर्वाधार विकासमा ठूला लगानी भित्र्याइ द्रुत विकास तथा आर्थिक समृद्धि हासिल गर्न सरकारले सो विधेयक ल्याएको थियो । सो विधेयकमा विशेष गरी लगानी बोर्डको दायरा, कार्य क्षेत्र फराकिलो बनाउने प्रस्ताव गरिएको छ । लगानी बोर्ड ऐन २०६८ व्यावहारिक रुपमा कार्यान्वयन आउन नसकेपछि सो नयाँ विधेयक आएको बताइन्छ ।

नयाँ विधेयकले ६ अर्ब माथिका पूँजी सार्वजनिक निजी अवधारणाले परिचालन गरी आर्थिक वृद्धि ल्याउने ध्येय राखेको छ । अर्थ मन्त्रालयका अनुसार नौ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न रु १५ खर्ब पूँजी परिचालन आवश्यक पर्दछ । पछिल्लो समय निजी क्षेत्रसित रु १० खर्ब पूँजी परिचालन गर्ने क्षमता रहेको छ ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले लगानी बोर्डको दायरा, कार्यक्षेत्र थप फराकिलो बनाउँदै पूर्वाधार विकासमार्फत् आर्थिक समृद्धि हासिल गर्न नयाँ विधेयक आएको जानकारी दिँदै निजी क्षेत्रको पूँजी पूर्वाधार विकासमा लगानी गर्न विधेयकले थप बाटो खुला गर्ने दाबी गरे ।

अर्थमन्त्रीले उच्च आर्थिक वृद्धिदर हासिल गर्न ठूला आयोजनामा लगानी गर्न आवश्यक रहेको चर्चा गर्दै विदेशी लगानीले आकर्षित गर्दा निजी क्षेत्रलाई असर नपर्ने बताए । उनले भने, लगानी बोर्ड राजनीतिक निकाय होइन, समानान्तर सरकारका रुपमा विकास पनि गर्न खोजिएको होइन ।”

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह