Logo

Banner-news

आफैंले मागेका ऐन आउँदा पनि हामीले किन दीपावली गर्न सकेनौं ?


GDP Nepal
   १० चैत्र २०७५, आइतबार


कृष्णलाल महर्जन

कृष्णलाल महर्जन


नेपालको चेम्बर आन्दोलनको इतिहासमा ५० वर्ष नाघेका थोरैमात्र संघ संगठनहरु छन् र त्यसमध्ये पनि निरन्तर सक्रिय र आफ्ना सदस्यहरुमाझ लोकप्रिय रहेको यस ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर यस गरिमामय सभालाई सम्बोधन गर्न पाउनु मेरो जीवनको पनि स्वर्णिम उपलब्धि ठानेको छु । आजको यस गरिमामय दिनमा म यस संघका संस्थाप्रकहरुप्रति हार्दिक नमन गर्न चाहान्छु भने यस संघका सबै पूर्वअध्यक्ष ज्यूहरु जसले संस्थाको उचाइ बढाउन एकपछि अर्को इँटा थप्नुभयो । उहाँहरु सबैप्रति संघको तर्फबाट कृतज्ञता व्यक्त गर्न चाहान्छु । ललितपुर उद्योग वाणिज्य संघका अभिभावकका रुपमा यहाँहरुको मार्गनिर्देशन भोलिका दिनमा पनि प्राप्त भइरहने अपेक्षा गर्दछु ।

अर्थतन्त्रमा सुधार भएन
मुलुक यतिबेला राजनीतिक संक्रमणको समाप्तीसँगै नयाँ युगमा प्रवेश गरेको छ । विगतमा भएका सबैखाले राजनीतिक आन्दोलनको एकमुष्ठ उपलब्धिका रुपमा हामीले संविधानसभाबाट जनताका प्रतिनिधिले लेखेको संविधान पाएका छौं र अहिले त्यही संविधान कार्यान्वयनको चरणमा मुलुकले एक स्थिर सरकार पनि पाएको छ । संविधान निर्माणपछि मुलुकमा समृद्धिको चर्चा चुलिएको छ । समृद्धिको चर्चाले हामी पनि उत्साहित थियौं र छौं पनि । तर, नयाँ सरकार गठनपछिको १ वर्षमा पनि मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत सुधार छैन । व्यापार घाटा, शोधनान्तर स्थिति, आर्थिक वृद्धि, रेमिट्यान्स आप्रवाहलगायतका अर्थतन्त्रका परिसूचकहरु अहिले पनि उस्तै नै छन् । विकास खर्च हुन नसकी सरकारी ढुकुटीमा राजस्व जम्मा भइरहने तर बजारमा तरलता अभाव हुने पुरानो रोगको उपचार हुन सकेको छैन । अहिले त बैंकको ब्याजदर घटाउन उद्योगी व्यवसायीले आन्दोलन नै गर्नुपरिरहेको अवस्था छ । यो अवस्थाको समाधान न बैंकहरुसँग छ न व्यवसायीसँग नै छ । बरु सरकारले ढुकुटीमा पैसा थुपारेर राख्नुभन्दा बजारमा चाँडोभन्दा चाँडो पुग्ने विकल्पहरु खोजी गरिदिए हामी व्यवसायीहरु बैंकसँग झगडा गरेर बस्नुपर्ने अवस्था आउने थिएन ।

लगानी सम्मेलनमा ललितपुरलाई उपेक्षा


सरकारलाई म भन्न चाहान्छु कि सरकारले अर्को हप्ता नेपाल लगानी सम्मेलन आयोजना गर्न गइरहेको छ । तर, यो सम्मेलनका लागि शोकेसमा राख्न भनेर छानिएका ६३ वटा परियोजनामा ललितपुरका एउटा पनि नपर्नुले हामी स्तब्ध छौं । के सयौंको संख्यामा आउने विदेशी लगानीकर्तामाझ प्रस्तुत गर्नसकिने ललितपुरमा एउटा पनि आयोजना थिएनन् ? पक्कै पनि थिए । तर, यस्ता सम्मेलन आयोजना गर्नुअघि हामीजस्ता सरोकारवालासँग सल्लाह नै गरिँदैन । सिंहदरवार नै सर्वेसर्वा भएको देशमा हामी राजधानीवासीले नै संघीयताको महशुस गर्न सकेका छैनौं भने ग्रामीण दूरदराजका नागरिकको अवस्था कस्तो होला ?
यतिमात्र होइन, लगानी सम्मेलनकै लागि सरकारले धमाधम विभिन्न ऐन नियमहरु पारित गरिरहेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुन, सेज ऐन, सार्वजनिक–निजी–साझेदारी ऐन, एन्टिडम्पिङ ऐन लगायतका निजी क्षेत्रसँग सम्बन्धित धेरै ऐनहरु संसदबाट पारित भइरहेका छन् । हामीले वर्षौंदेखि यी ऐन मागेका थियौं तर अहिले एकैपटक पारित गर्दा हामीले यीनमा छलफल गर्न त के राम्रोसँग अध्ययन पनि गर्न पाएका छैनौं । साना तथा मझौला व्यवसायमा विदेशी लगानी ल्याउन हुँदैन भन्ने विषयमा त निजी क्षेत्रले एकजुट भएर संस्थागत विरोध नै गर्नुप¥यो । यस्ता थुप्रै विषयमा असहमति र असमझदारी पनि छन् । यसैले हामी आफैंले मागेको ऐन आउँदा पनि सरकारको कमजोरीका कारण हामीले खुसी मनाएर दीपावली गर्नसक्ने अवस्था आउन सकेन ।

ललितपुरको एकमात्र चेम्बर
ललितपुर उद्योग वाणिज्य संघ यस ललितपुर जिल्लाभर रहेका निजी क्षेत्रको एकमात्र प्रतिनिधिमूलक संस्था हो । हामीले यस क्षेत्रका व्यवसायीको हक अधिकारको पैरवीमात्र गर्दैनौं, उद्यमशीलता प्रवद्र्धन तथा लगानी विस्तारका साथै सामाजिक काममा पनि उत्तिकै अग्रसर छौं । ललितपुर महानगरपालिका सहित जिल्लाका दुवै नगरपालिका र ३ वटै गाउँपालिकासम्म विधानले दिएको म्यान्डेट अनुसार हाम्रो उपस्थिति विस्तार गर्नुपर्ने आवश्यकता महशुस गरेका छौं र यी क्षेत्रमा शाखा विस्तारको तयारी भइरहेको छ ।
हामी ललितपुरको निजी क्षेत्रको नेतृत्व तहमा छौं तर ललितपुरमा अझै एउटा पनि ५ तारे होटल छैन भन्नुपर्दा हामीलाई दुःख लाग्छ । यतिमात्र होइन, गोदावरी र महालक्ष्मी नगरपालिका तथा तीनवटै गाउँपालिकाका धेरै स्थान आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि हामीले यसमा पर्यटकीय पूर्वाधार निर्माण गर्न नसक्दा यी क्षेत्र पिकनिक स्पटभन्दा माथि उठ्न सकेका छैनन् । ललितपुरको दक्षिणी भेगमा रहेको पर्यटकीय सम्भावना तथा पूर्वी क्षेत्रमा रहेको टेक्सटायल लगायतका उद्यमशीलताको विकास विस्तार र प्रबद्र्धनका लागि संघले अग्रसरता लिँदै आइरहेको पनि छ ।
पाटनमै पनि जति पर्यटक आउनसक्छन् त्यसको तुलनामा नगन्यमात्र आइरहेका छन् भने आएका पर्यटकको बसाइ लम्ब्याउन पनि हामीले पर्यटकीय पूर्वाधारमा लगानी गर्न ढिलाइ भइसकेको छ । त्यसैले समग्र ललितपुर जिल्लाका लगानीका सम्भावनाहरु उत्खनन् गर्दै हामी ललितपुर लगानी सम्मेलन आयोजना गर्ने तयारीमा छौं । विदेशी लगानीकर्तामात्र नभै स्वदेशी तथा गैरआवासीय नेपालीसमेतको सहभागितामा निकट भविष्यमै हामी यस्तो सम्मेलन आयोजना गर्दैछौं ।
यस्तै, वल्र्ड क्राफ्ट काउन्सिलले यस क्षेत्रलाई ललितपुर क्राफ्ट सिटी घोषणा गरिसकेको अवस्था छ । यस ललितपुर उद्योग वाणिज्य संघ तथा नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले यस क्राफ्ट सिटीलाई प्रबद्र्धनका निमित्त व्यवस्थित र मर्यादित बनाउन सहकार्य गर्दै आइरहेको छ । आगामी दिनमा यस क्षेत्रलाई हस्तकलाको सहरका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो प्रयास जारी रहनेछ ।

सामाजिक काममा ललितपुर उवासंघ
हामी उद्यमी व्यवसायी भए पनि समाज, संस्कृति र परम्पराप्रतिको हाम्रो दायित्व उत्तिकै छ । हामीले यस अवधिमा लोपोन्मुख खड्ग पायो जात्रा बन्द भइसकेको अवस्थामा पनि २५ वर्षपछि यसलाई पुनजीर्वित गरेका छौं भने हामी सबैको धरोहर भीमसेन मन्दिर पुनर्निर्माणको नेतृत्व लिएका छौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त यस भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकासँगको सहकार्यमा उद्योग वाणिज्य संघले आफ्ना सदस्य तथा दाताहरुसँग चन्दा संकलन गरेर नै यस मन्दिर पुनर्निर्माणको काम अघि बढाएको छ । हामी यस अभियानमा सफल भयौं भने उद्योग वाणिज्य संघको इतिहासमै हाम्रो यो काम ऐतिहासिक उपलब्धिका रुपमा रहनेछ । आजको यस महत्वपूर्ण दिनमा यहाँ उपस्थित सबैलाई भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको संयोजकको नाताले यथाशक्य सहयोग गरिदिनु हुन आह्वान पनि गर्दछु । हाम्रो सम्पदा हामी आफैं बनाऔं भन्ने हाम्रो यस पवित्र अभियानमा साथ दिनुहुन पुनः एकपटक आग्रह गर्न चाहान्छु ।
नेपालमा अहिले निजी क्षेत्रका संघ संगठन धेरै भएर सरकारलाई पनि कुन संगठनको के कुरा सुन्ने भन्ने परिरहेको छ । हामी प्रजातान्त्रिक व्यवस्थामा भएकाले संघ संस्था खोल्न प्रतिबन्ध त लगाउन सक्दैनौं तर यसको नियमन र व्यवस्थापनका लागि भने अब ढिलो गर्नु हुँदैन । त्यसैले कुन क्षेत्रमा कति संगठन खोल्ने र यसका लागि मापदण्ड के हुने भनेर चेम्बर कानुन आवश्यक भइसकेको छ । यसले कुनै पनि संस्था खोल्न प्रतिबन्ध लगाउने भन्दा पनि व्यवस्थापनका लागि सहयोग पुग्नेछ भन्ने मलाई लाग्दछ । यसैले चेम्बर कानुनका लागि हामीले सरकारलाई आग्रह गर्दै आइरहेका छौं र सरकारसमक्ष यो कुरा पुग्यो भने केही चाँडो काम होला कि भन्ने हाम्रो अपेक्षा छ ।

साधारण सदस्य नै सर्वोपरी
यस ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसका अवसरमा आज हामी यस संस्थामा २५ वर्षसम्म आवद्ध रहनुभएका सबै सदस्य ज्यूहरुलाई सम्मान पनि गदैैछौं । संस्थाको नेतृत्व तहमा हामी रहे पनि संस्थाको मेरुदण्ड भनेको तपाइँ साधारण सदस्यहरु नै हुनुहुन्छ । हामीले तपाइँहरुकै बलमा एक्सपोजर पाएका छौं तर पर्दापछाडि अर्थात नेपथ्यमा रहेर तपाइँहरुले पु¥याउनुभएको योगदानको हामी सम्मान गर्न चाहान्छौं । तपाइँ सदस्यहरुको निर्णय नै सर्वोपरी हो र हामीले त तपाइँहरुले देखाएको बाटोमा हिँड्नेमात्र हो । तपाइँहरुले संस्थाको गतिशीलताका लागि पु¥याउनुभएको योगदानका सामु हाम्रो सम्मान त्यति ठूलो नहोला । कुनै पनि संस्थाका लागि नेतृत्व भनेको आउने जाने भइरहन्छ तर संस्थाको सबैभन्दा ठूलो शक्ति भनेकै साधारण सदस्य हो भन्ने हामीले आत्मसात गरेका छौं र भोलिका दिनका लागि पनि यही मान्यता स्थापित गर्न हामी चाहान्छौं । त्यसैले आज सम्मानीत हुन लाग्नुभएका सबै सदस्य ज्यूहरुलाई उहाँहरुको योगदान तथा भूमिकाका लागि हार्दिक सम्मान गर्न चाहान्छु ।

ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा अध्यक्ष कृष्णलाल महर्जनद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंश

प्रकाशित : १० चैत्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह