Logo

Banner-news

हेटौंडा–काठमाडौं सुरुङमार्ग किन अटाएन लगानी सम्मेलनको शोकेसमा ?


GDP Nepal
   १० चैत्र २०७५, आइतबार


काठमाडौं । सरकारले अर्को साता राजधानीमा आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि ६३ परियोजना शोकेसमा राखेको छ । जसमा सरकारद्वारा प्रवद्र्धित ४६ वटा परियोजना छन् भने निजी क्षेत्रका १७ परियोजना पनि शोकेसमा सजाइएका छन् ।

तर, निजी क्षेत्रद्वारा प्रवद्र्धित बहुचर्चित हेटौंडा–काठमाडौं सुरुङमार्ग भने सरकारी शोकेसमा अटाउन सकेन । ५६ अर्ब लगानी अनुमान गरिएको यो आयोजना राजधानी काठमाडौंलाई हेटौंडासहित पश्चिम नेपालसँग जोड्ने रणनीतिक महत्वको आयोजना भए पनि सरकारले शोकेसमा राख्न अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सरकारले निर्माण गरिरहेको काठमाडौंबाट बाराको सिमरा जोड्ने द्रुत मार्ग र काठमाडौं–हेटौंडा सुरुङमार्ग नजिकै पर्ने भएकाले यो आयोजना बनाउनु हुँदैन भनेर कतिपयले लबिङसमेत गरिरहेका छन् । तर, सहरी क्षेत्रमा प्रत्येक १० लाख जनसंख्याको अनुपातमा एउटा एक्सप्रेस वे चाहिन्छ भन्ने मान्यतालाई आत्मसात गर्ने हो भने फास्ट ट्रयाक भनिने द्रुतमार्ग र सुरुङमार्गमात्र नभइ अन्य २ वटा एक्सप्रेस वे आवश्यक देखिन्छ ।

त्यसो त यो आयोजनालाई अघि नबढाउनुमा सरकारभित्रको आन्तरिक द्वन्द्व र कलह पनि उत्तिकै कारण मानिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै महत्व दिएको यस आयोजनालाई वर्तमान प्रधानमन्त्री केपी ओलीले अघि बढाउन नचाहनुलाई राजनीतिक इगोका रुपमा पनि विश्लेषण गरिन्छ ।

अर्कोतर्फ हेटौंडा–काठमाडौं सुरुङमार्ग आफैं बनाउने भनेर प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरे पनि हाल भने प्रदेश सरकारले पनि पूर्वाधार विकास कम्पनीलाई नै लगानी खोज्न आग्रह गरिररहेको छ । कम्पनीका संस्थापक अध्यक्ष कुशकुमार जोशीले सुरुमा स्वदेशी लगानीमै आयोजना बनाउन प्रयास गरे पनि सम्भव नभएकाले हाल चिनियाँ कम्पनीले रुचि देखाइरहेको बताइन्छ ।

यसैबीच, लगानी सम्मेलनकै पूर्वाद्र्धमा सुरुङ मार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीले विशेष साधारणसभा शनिबार सम्पन्न गरेको छ । सभामा सुरुङमार्ग बन्नैपर्ने र यसको कुनै विकल्प नभएकोमा सेयरधनीहरुले जोड दिए ।

एनपीबीसीएल र चीनको पावर चाइनाबीच गत साउन ९ गते सुरुङमार्ग निर्माणमा लगानी गर्ने सम्झौता भइसकेको छ ।

प्रकाशित : १० चैत्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह