Logo

लगानी सम्मेलन आजः उदघाटन समारोहमा डा. महत कसरी थपिए ?




काठमाडौं । नेपाल लगानी सम्मेलन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । काठमाडौंको सोल्टी क्राउन प्लाजा होटलमा हुने दुई दिने सम्मेलनलाई सरकारले लगानी उत्सवका रुपमा अघि बढाएको छ भने सम्मेलनमा ४० देशका साढे ६ सयभन्दा बढी विदेशी तथा त्यत्तिकै संख्यामा स्वदेशी प्रतिनिधि सहभागी हुँदैछन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री डा. रामशरण महत, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन लगायतले सम्बोधन गर्दैछन् ।

यस्तै, शनिबारको समापनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, अर्बपति उद्योगी विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतले सम्बोधन गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निषेधजस्तै गरिएको लगानी सम्मेलनमा पूर्वअर्थमन्त्री डा. महतलाई भने अन्तिम समयमा सहभागी गराइएको छ । प्रधानमन्त्री ओलीले नै प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई सहभागी गराउन अस्वीकार गरेका थिए भने महत उनैको रोजाइका नेता हुन् । सम्मेलनमा देउवाले विदेशीलाई प्रेरित गराउन नसक्ने बरु महतले सक्छन् भन्दै उनले महतलाई सहभागी गराउन आग्रह गरेको स्रोतले बतायो ।

डा. रामशरण महत

लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्तासामु शोकेशमा ७७ परियोजना प्रस्तुत गर्दैछ । साढे ३२ अर्ब रुपैयाँ लागत रहेका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना सरकारले लगानीका लागि शोकेसको रुपमा प्रस्तुत गर्न लागेको हो ।

सम्मेलनमा एक दर्जनभन्दा बढी परियोजनाहरूको समझदारी र समझदारी गर्ने तयारी लगानी बोर्डले गरेको छ । लगानी बोर्डका अनुसार अधिकांश सहभागी बिहीबारनै काठमाडौं आइसकेका छन् ।
सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागी हुँदैछन् ।

सम्मेलनअन्तर्गत विभिन्न सेसनमा ६५ जना प्यानलिष्टको रुपमा सहभागी हुँदैछन् । ती सेसनहरूमा विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकाय मिगाका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रसिद्ध कम्पनीहरू माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरूको उच्चपदस्थ प्रनिनिधिहरूको उपस्थिति रहने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्