Logo

Banner-news

एफएनसीसीआईमा सँधै नेतृत्व विवाद तर सीएनआईमा कसरी हुन्छ सर्वसम्मत ?


GDP Nepal
   २७ चैत्र २०७५, बुधबार


काठमाडौं । निजी क्षेत्रका दुईवटा संगठनमध्ये नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्वका लागि निकै विवाद हुन्छ तर त्यसको ठिक विपरीत नेपाल उद्योग परिसंघमा भने कहिल्यै नेतृत्व विवाद हुँदैन । परिसंघको चौथो अध्यक्षमा पनि उद्योगपति सतिशकुमार मोर सर्वसम्मत रुपमा चयन भए ।

परिसंघ र महासंघमा अध्यक्ष चयनको समान व्यवस्था छ अर्थात् वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने । परिसंघले धेरै अघि यो व्यवस्था लागू गरेर तीनवटा अध्यक्ष वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको खुड्किलो चढिसकेका छन् । तर, महासंघमा दुई वर्षअघि यही व्यवस्था लागू भए पनि अहिले यो व्यवस्था हटाउन निकै चलखेल भइरहेको छ ।

त्यसो त महासंघ र परीसंघ आकारका हिसाबले समान छैनन् तर सरकारलाई प्रभाव पार्ने सवालमा भने करिब समान हैसियतमा देखिन्छन् । महासंघको सञ्जाल देशव्यापी भए पनि परिसंघको सीमित स्थानमा मात्र छ । महासंघसँग सयभन्दा बढी वस्तुगत संगठन र सयभन्दा बढी नै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका छन्, जुन परिसंघभन्दा सशक्त पक्ष हो ।

महासंघ मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरु मूलतः राजनीतिक संगठन हुन् भने महासंघभित्र प्रोफेसनल समूह भनेको एशोसिएटमात्रै हो । महासंघको एशोसियटमध्ये अधिकांश परिसंघकै सदस्य हुन् भने उनीहरु परिसंघमै बढी सक्रिय हुने भएकाले परिसंघ तुलनात्मक रुपमा यस क्षेत्रमा सशक्त देखिन्छ ।
कतिसम्म भने एउटै व्यवसायमा संलग्न परिवारका दाजुभाइ बाँडिएर महासंघ र परिसंघको कार्यसमितिमा चयन हुने भएकाले नेपालका स्थापित र उदीयमान दुवैखाले कर्पोरेट हाउसले अब परिसंघलाई इग्नोर गर्नै नसक्ने अवस्था सिर्जना भइसकेको छ ।

नेपाल उद्योग परिसंघको यसै साता भएको साधारणसभाले अध्यक्षमा सतीशकुमार मोरलाई निर्विरोध निर्वाचित ग¥यो । उद्योग वाणिज्य महासंघले भने अर्को वर्ष चैत २७ गते नयाँ निर्वाचन गरेर नेतृत्व चयन गर्नेछ । यो एक वर्षमा विधान संशोधन भएन भने शेखर गोल्छा स्वतः अध्यक्ष निर्वाचित हुनेछन् । तर, विधान संशोधन भयो भने उनी निर्वाचन लड्छन् की महासंघबाट बाहिरिन्छन् भनेर यसै भन्न सकिने अवस्था छैन ।

परिसंघ सानो समूह भएरमात्र नेतृत्व चयन सहज भएको होइन । परिसंघमा एक दशक विनोद चौधरीले नेतृत्व गरे । जुन समयमा परिसंघलाई स्थापित हुनै नदिने प्रयाशहरु भइरहे, सो समय चौधरीले अनेकौं ठाउँमा आफैं भिडेर संस्थालाई स्थापित बनाए । जब संस्था आफैं अगाडि बढ्नसक्ने भयो, उनले परिसंघमा अभिभावकीय नेतृत्वमात्र लिए र क्रमशः नरेन्द्रकुमार बस्न्यात, हरिभक्त शर्मा हुँदै मोरसम्मलाई अघि बढाए ।

परिसंघ अध्यक्ष मोर र महासंघ अध्यक्ष राणा

तर, महासंघ झन्डै १ दशकदेखि पूर्वअध्यक्ष चण्डिराज ढकालको प्रत्यक्ष नियन्त्रणमा छ । महासंघको राजनीतिलाई नै पूर्णकालीन पेशा बनाएका ढकाललाई धेरैले रुचाए पनि नरुचाए पनि उनी शक्तिशाली छन् । महासंघभित्र ५० प्रतिशत शक्ति रहेको जिल्लानगरमा उनको प्रभावका कारण उनको रुचिबिना जो कोहीलाई पनि महासंघ नेतृत्वमा आउन धौधौ पर्नसक्छ ।
ढकाल महासंघभित्रको समीकरण बनाउन र फुटाउन पनि उत्तिकै माहिर छन् । जसले महासंघको राजनीतिबारे सहजै प्रक्षेपण गर्न जो कोहीलाई पनि गाह्रो पर्छ । यसले व्यक्तिगत रुपमा ढकाललाई फाइदा पुगे पनि महासंघभित्र भने विभिन्न गुट उपगुट खडा भइरहेको छ । जसका कारण महासंघ स्वाभाविक गतिमा अघि बढ्न सकेको छैन ।

परिसंघमा भने अझै पनि चौधरीकै प्रभाव देखिन्छ । चौधरी परिसंघको प्रेसिडेन्ट इमिरेट्स रहे पनि उनको फैलँदो राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वका कारण परिसंघ नेतृत्वले उनको कुरा काट्न सक्दैन । चौधरीका जेष्ठ सुपुत्र निर्वाण चौधरी हाल दोस्रोपटक परिसंघ उपाध्यक्ष भएका छन् र धेरैले उनलाई भावी अध्यक्षमा रुपमा विश्लेषण गरिरहेका छन् ।

निर्वाणमात्र होइन अनुज अग्रवाल, विष्णु अग्रवाललगायत परिसंघमा दशकौं बिताएका नेतृत्व तहमा सहजै स्थापित भएका छन् । तर, महासंघमा क्षमतावानहरु नेतृत्वमा लामो समय टिक्नसक्ने अवस्था छैन । महासंघको एशोसियट समूहमा एक से एक सक्षम व्यवसायीहरु रहे पनि उनीहरुलाई माथि उठ्ने वातावरण नै छैन ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह