Logo

पूर्वराजपरिवारको होटल उदघाटनमा प्रधानमन्त्री नै जानुको सन्देश के हो ?




काठमाडौं । बाँकेको नेपालगन्ज बसुदेवपुरमा निर्माण भएको होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता गरे ।

नेपालकै पहिलो ग्रिन पाँचतारे होटल दावी गरिएको यो होटल काठमाडौस्थित सोल्टी होटलकै लगानीमा निर्माण भएको हो । सोल्टी होटल तत्कालीन राजपरिवारको मुख्य लगानी रहेको होटल हो । जसमा अहिले पनि बहुमत सेयर पूर्वराजा ज्ञानेन्द्र शाहकै छ ।

होटल उदघाटन गर्दै प्रधानमन्त्री, मुख्यमन्त्री लगायत

एक वर्षअघि सफ्ट ओपनिङ गरी सञ्चालनमा ल्याइएको सोल्टी होटलको मंगलबार ग्राण्ड ओपनिङ गरियो । होटलको उदघाटन प्रधानमन्त्री ओलीले गरेसँगै पूर्वराजपरिवारको होटलमा गणतन्त्र नेपालका प्रधानमन्त्री उदघाटनमा जानुले अहिले निकै चर्चा कमाएको छ ।

लगानीलाई प्रबद्र्धन गर्ने हिसाबमा ओलीले उदघाटन गर्नु स्वाभाविक मानिए पनि पूर्वराजाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै शीर्ष नेताहरु आक्रामक रहेको बेला ओलीले शाहको होटल उदघाटन गरेर आफूलाई मध्यमार्गी कित्तामा उभ्याएका छन् ।

ओली पूर्वराजाप्रति पहिलेदेखि नै अनुदार छैनन् । सोल्टी वेस्टेन्ड प्रिमियरको उदघाटनसँगै उनको उदारता थप पुष्टि भएको छ । यसबाट उनले ज्ञानेन्द्र शाहको सक्रियताको चर्को विरोध गर्ने आफ्नै पार्टीका नेताहरुलाई पनि जवाफ फर्काएका छन् ।

त्यसो त सोल्टी वेस्टेन्ड प्रिमियर होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ । हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ । कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ । ‘जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रूपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रूपमा प्रयोग गर्दै आएको छ ।

करिब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल काठमाडौंको सोल्टी होटलको पहिलो भगिनी होटल हो । १ अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन् । क्यासिनो पनि सुरु गर्ने योजना होटलले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्