Logo

शाश्वतधाममा प्रधानमन्त्री, चौधरीसँग सम्बन्ध सुधारिएकै हो ?




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नवलपुरस्थित सिजी इन्डस्ट्रियल पार्कमा रहेको शास्वतधाम एकाम्बरेश्वर शिवमन्दिरमा विशेष पूजा, अर्चना गरेका छन् ।

उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेर सांसद बनेसँगै चौधरी समूहसँग इगो साँधेका प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेलसमेतलाई सँगै लिएर पूजा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चौधरीको लगानी रहेको सिजी टेलिकमले सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि अनुमति पाएको छैन । चौधरी र ओलीबीचको सम्बन्ध सुमधुर हुन नसकेकै कारण अनुमति नपाएको आरोप लाग्दै आएको छ ।

शाश्वतधाममा प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै चौधरीपत्नी सारिका । तस्बिरः निर्वाण चौधरीको फेसबुकबा

ओलीले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्ने बताइरहे पनि चौधरीप्रति उनी अनुदार देखिँदै आएका थिए भने चौधरी समूहलाई राज्यबाट कुनै सहयोग थिएन ।


तर, गत फागुनमा भएको लगानी सम्मेलन सफल बनाउन चौधरी समूहको विशेष योगदान रह्यो र चौधरी स्वयंले पनि विदेशी लगानीकर्ता सामु सरकारको प्रवक्ताकै शैलीमा नेपालमा लगानीका लागि आह्वान गरे । चौधरी समूहका ४ वटा प्रोजेक्टमा सहमति पनि भयो ।

प्रधानमन्त्री ओलीले शनिबार चौधरी समूहद्वारा प्रवद्र्धित चौधरी फाउण्डेसनद्वारा स्थापित कृत्रिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरे ।

शनिवार दिउँसो नै हेलिकप्टरवाट पुगेका ओलीले शाश्वतधाममा रहेको धार्मिक संग्राहलयको अवलोकन गरे । शाश्वत धाममा चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए । चौधरीले शाश्वतधामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफू प्रभावित भएकोसमेत बताए ।


यी घटनाबाट प्रधानमन्त्री ओली र चौधरीबीच सम्बन्ध सुधारोन्मुख देखिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्