Logo

हुवावे प्रतिबन्धमा एक्लिँदै अमेरिका, बेलायतले पनि भित्र्यायो हुवावे




लन्डन (एजेन्सी): चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने अमेरिकी प्रयाश असफल भएको छ । अमेरिकाको मुख्य विश्वासपात्र बेलायतले समेत अमेरिकी प्रतिबन्धको बेवास्ता गर्दै हुवावेलाई आफ्नो देश भित्र्याएको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिएको एएफपीले जनाएको छ ।

एएफपीले बेलायती अखबार डेली टेलिग्राफलाई उधृत गर्दै लेखेको समाचारअनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले हुवावेको सेवा लिन मन्जुरी दिएका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले चिनियाँ कम्पनीलाई एन्टेनाजस्ता सहायक पूर्वाधारहरु निर्माण गर्न सीमित अनुमति दिएको टेलिग्राफले जनाएको छ ।

यद्यपि, अमेरिकी चेतावनीबारे बेलायतमा पनि छलफल नभएको भने होइन । प्रधानमन्त्रीको प्रस्तावमाथि गृहमन्त्री साजिद जाभिद, विदेशमन्त्री जेरेमी हन्ट, रक्षामन्त्री ग्याभिन विलियम्सन, अन्तरराष्ट्रिय व्यापारमन्त्री लियाम फक्स र अन्तरराष्ट्रिय विकासमन्त्री पेन्नी मोर्डन्टले चासो देखाएका थिए ।

संयुक्तराज्य अमेरिकाले हुवावेको ५जी प्रविधिलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले आफ्ना गठबन्धनका मुलुक अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्यूजील्यान्डलाई पनि हुवावेको दूरसञ्चार सेवा नलिन निरन्तर दबाब दिँदै आएको छ ।

युरोपका अर्थतन्त्र खासगरी ऊर्जा, यातायात, बैंकिङ र स्वास्थ्य सेवाका तथ्याङ्कीय विवरण हुवावेमार्फत तिब्र गतिको इन्टरनेटबाट चीनले लैजाने अमेरिकी भनाई छ । हुवावेले अमेरिकी आरोपको लगातार खण्डन गरिरहेको छ तर अझै विश्वासको वातावरण बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्