Logo

Banner-news

सरकार र आपराधिक समूह दुवैको चेपुवामा निर्माण व्यवसायी


GDP Nepal
   १९ बैशाख २०७६, बिहिबार


काठमाडौं । निर्माण व्यवसायीहरुमाथि एकातर्फ सरकारको निरन्तर आक्रमण र अर्कोतर्फ पेशेवर गुण्डाहरुले धम्क्याउने क्रम बढेको छ । आपराधिक समूहको निशाना बनेका व्यवसायीहरु सरकारसँग सुरक्षा माग्न जाँदा उल्टै विभिन्न बहाना देखाएर खेद्ने गरिएको उनीहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार जनतासँग प्रधानमन्त्री नामक टेलिभिजन कार्यक्रममा निर्माण व्यवसायीमाथि चर्को असन्तुष्टि पोखे । उनले मोबिलाइजेसन पेश्की लिएर अन्यत्रै लगाएको तर काम नगरेको भन्दै आपत्ति जनाए ।

तर, प्रधानमन्त्री भएको डेढ वर्ष पुग्नै लाग्दा पनि उनले निर्माण व्यवसायीलाई एकपटक भेट दिएका छैनन् । उनीहरुको गुनासो नै सुन्न नहुने अछुत क्षेत्रका रुपमा निर्माण व्यवसायीलाई इग्नोर गरिरहेका छन् ।

गृह मन्त्रालयको नेतृत्व लिनेवित्तिकै निर्माण व्यवसायीलाई जथभावी पक्राउ गरेर गृहमन्त्री रामबहादुर थापाले असहिष्णु प्रवृत्ति देखाए पनि आफ्नै पार्टी अध्यक्षका घरभेटीलाई जोगाएपछि उनको शाख झन तल झरेको थियो ।

अर्कोतर्फ प्रधानमन्त्रीले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम भएको दावी गरिरहे पनि नेपाल निर्माण व्यवसायी महासंघले भने कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरू पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको जनाएको छ ।

निर्माण व्यवसायीहरूलाई लक्षित गरी केही समयदेखि निरन्तर धम्कीपूर्ण फोनहरू आइरहेको भन्दै उनीहरूले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् ।

महासंघ अध्यक्ष रवि सिंहका अनुसार व्यवसायीहरूलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायहरूलाई समयमै जानकारी गराउँदासमेत कुनै सुनुवाई भएको छैन ।

लगातारको धाकधम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरूका परिवार, कार्यालयका कर्मचारीसमेत ठूलो त्रासमा बाँच्नु परेको छ । महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरू गरी करिव २५ जनालाई विगत केही समयदेखि मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको उनले जानकारी दिए ।

प्रकाशित : १९ बैशाख २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह