Logo

सेनाको विस्फोटक पदार्थविरुद्ध हाइड्रो व्यवसायीको अपवाह, गुणस्तरहीनको आरोप आधारहीन !




काठमाडौं । नेपाली सेनाले स्वदेशमै विस्फोटक पदार्थ उत्पादन वृद्धिसँगै आयातमा रोक लागेपछि केही माफियामा छटपटी सुरु भएको छ । केही जलविद्युत् उत्पादक व्यवसायीलाई उपयोग गरेर नेपाली सेनाको उत्पादनलाई गुणस्तरहीनको आरोप प्रचार गर्न थालिएको छ ।

केही हाइड्रो उद्यमीलाई उधृत गर्दै प्रकाशित समाचारअनुसार जलविद्युत््लगायत पूर्वाधार आयोजनाहरूको सुरुङ निर्माण लागत सात गुणासम्म बढ्ने दावी गरिएएको छ । जबकि सेनाले भारतका उत्पादनहरु झिकाएर परीक्षण गर्दासमेत नेपाली उत्पादन नै गुणस्तरीय रहेको पाइएको छ ।

व्यवसायीको गुनासोपछि सेनाले भारतका तीन कम्पनीको विष्फोटक पदार्थ परीक्षण गरेको थियो । सुख्खा माटोमा, मेटलमा र चट्टानमा विभिन्न परीक्षण गर्दा तीन भारतीय कम्पनीमध्ये एउटामात्र नेपालभन्दा राम्रो पाइएको छ । बाँकी दुई वटा कम्पनीको भने नेपालकोभन्दा कम गुणस्तर रहेको पाइएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् ।

तर, हाइड्रो व्यवसायीहरु भने विस्फोटक पदार्थ माफियाहरुको इशाराबमोजिम प्रतिघनमिटरका लागि नेपाली उत्पादन १२ केजीसम्म आवश्यक पर्ने तर आयातित विस्फोटक पदार्थले प्रतिकेजी दुई घनमिटर विस्फोट गर्न सकिने अवस्था रहेको दावी गर्छन् ।

सेनाले भने मकवानपुरको सुनाचुरीमा रहेको इमल्सन प्लान्टको स्तरोन्नति गरेपछि सेनाले विस्फोटक पदार्थ स्वदेशमै पर्याप्त उत्पादन हुने भन्दै विगत दुई महिनादेखि आयातमा रोक लगाउँदै आएको छ ।

भारतबाट ल्याउँदा प्रतिकेजी १५० रुपैयाँमा पाइने यस्तो पदार्थ नेपालमै भने प्रतिकेजी १९८ रुपैयाँ पर्ने भन्दै व्यवसायीले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्