Logo

खुसी मानौंः विश्वका १० खराब विमानस्थलको सूचीबाट त्रिभुवन विमानस्थल बाहिरियो !




लन्डन (एजेन्सी): नेपालीहरुका लागि खुसीको खबर छ । संसारका १० खराब विमानस्थलको सूचीबाट नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिएको छ ।


विगतका वर्षहरूमा विश्वका सर्वाधिक खराब विमानस्थलको सूचीमा पर्दै आएको त्रिभुवन विमानस्थल यस पटक भने खराब १० को सूचीमा परेको छैन । एयर ट्राभल वेबसाइट ‘एयरहेल्प’ले हालै सार्वजनिक गरेको विश्वका प्रमुख विमानस्थलहरूको वर्गीकरणमा त्रिभुवन विमानस्थलको नाम छैन ।

त्रिभुवन विमानस्थल

वर्गीकरणमा विश्वका १ सय ३३ विमानस्थललाई समावेश गरिएको छ । उपभोक्ता सेवा, सरसफाइ, समयपालना र यात्रुहरूलाई उपलब्ध खाद्यान्न र किनमेलको विकल्पका आधारमा विमानस्थलहरूको वर्गिकरण गरिएको छ ।

विमानस्थलहरूलाई समग्रमा १० अंक दिइएको छ । समयपालनको भूमिकालाई मात्रै ६० प्रतिशतको अंक दिइएको छ । सेवा गुणस्तरलाई २० प्रतिशत र खाद्यान्न तथा किनमेल विकल्पलाई पनि २० प्रतिशतको अंक दिइएको छ ।
सर्वाधिक कम अंक प्राप्त गर्ने विश्वका १० विमानस्थलमा १० युरोपका रहेका छन् भने एक एसिया र एक उत्तर अमेरिकाको रहेको छ ।

‘एयरहेल्प’का अनुसार पोर्चुगलको लिस्बन पोर्टेला विमानस्थल १० खराब विमानस्थलको सूचीमा विश्वकै खराब विमानस्थलका रूपमा रहेको छ । यो विमानस्थलले अनटाइम भूमिकामा ४.७, सेवाको गुणस्तरमा ७.३ र खानेकुरा र किनमेलमा ७.४ अंक प्राप्त गरेको छ । समग्रमा यो विमानस्थलले ५.७७ अंक पाएको छ ।

दोस्रो खराबमा कुवेतको कुवेत अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यसले अनटाइम भूमिकामा ४.३, सेवाको गुणस्तरमा ८ र खानेकुरा र किनमेलमा ८ अंक प्राप्त गरेको छ । समग्रमा यो विमानस्थलले ५.७८ अंक पाएको छ ।

तेस्रो खराबमा नेदरल्यान्डको इन्डोभेन विमानस्थल रहेको छ । यसले समग्रमा ५.९३ अंक पाएको छ ।
चौथो खराबमा रोमानियाको हेनरी कोअन्डा विमानस्थल रहेको छ ।
पाँचौंमा माल्टाको माल्टा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यसले समग्रमा ६.०५ अंक प्राप्त गरेको छ ।

छैटौं खराबमा संयुक्त अधिराज्यको म्यानचेस्टर विमानस्थल रहेको छ । यसले समग्रमा ६.२६ अंक प्राप्त गरेको छ ।
सातौ खराबमा पेरिस आर्लि विमानस्थल रहेको छ । यसले समग्रमा ६.३७ अंक प्राप्त गरेको छ ।
आठौं खराबमा पोर्टा विमानस्थल रहेको छ । यसले ६.४६ अंक प्राप्त गरेको छ । नवौं र दसौं खराबमा टोरन्टो सिटी विमानस्थल र लन्डन गाटविक विमानस्थल परेका छन् ।

यी विमानस्थलहरूले क्रमशः ६.५० र ६.६२ अंक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्