Logo

घरजग्गा किनबेचमा अब ठगिनुपर्दैन, ‘एन–रियो’ गठनसँगै एमएलएस सिस्टम लागू




काठमाडौं । घरजग्गा किनबेचमा अब ठगिनु नपर्ने भएको छ । सरकारले घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न नसके पनि निजी क्षेत्र आफैं यसमा अग्रसर भएको छ ।

घरजग्गा व्यवसायसँग सम्बद्ध एजेन्ट र एजेन्सीहरुलाई एकबद्ध गरी घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थितबनाउनकालागि नेपाल रियल स्टेट अर्गनाईजेशन (एन–रियो)को गठन भएको छ । घरजग्गा कारोबारमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको भन्दै एजेन्ट एजेन्सी, सरकार र अन्यपक्ष संग मिलेर त्यसलाई रोक्न तथा घरजग्गाको वास्तविक मूल्य पत्ता लगाउन नयाँ संस्था सञ्चालनमा ल्याइएको एन–रियोका अध्यक्ष नरेस सिंहले जानकारी दिए ।

‘अहिले काठमाडौंमात्र होइन भर्खर विकासित भइरहेको स्थानमा समेत सामान्य मानिसले घर बनाउनका लागि ४ आना जग्गा पनि किन्नसक्ने अवस्था छैन, अनियन्त्रित रुपमा मूल्य निर्धारण भइरहेको छ,’ संस्थाको औपचारिक उद्घाटन समारोहमा उनले भने, ‘अब यस संस्थाले एजेन्ट र एजेन्सीहरु व्यावसायीक ढंगबाट संचालन गर्न प्रोत्साहित गर्दै जग्गाविक्रेतालाई सही मूल्य र खरिकर्तालाई सर्वसुलभ मूल्यमा जग्गा उपलब्ध गराउने काम गर्नेछ ।’

संस्थाले घरजग्गा खरिदकर्ता तथा बिक्रीकर्तालाई वास्तविक मूल्य थाहा दिन र घर जग्गा कारोबारलाई व्यवस्थित गरी सहजीकरण गर्नका लागि मल्टी लिस्टिङ सिस्टम (एमएलएस) तयार गरिएको जानकारी दिएको छ । उक्त सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्रीगर्न लागेको घरजग्गाको बास्तविक मूल्यसहित राख्नेछ भने सोही आधारमा कुनै पनि व्यक्तिले संस्थामा आवद्ध भएका एजेन्ट र एजेन्सीमार्फत खरिद गर्न सक्नेछ ।
एमएलएस सिस्टममा उक्त संस्थामा आवद्ध भएका सबै ब्रोकरहरुले बिक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन् ।

कार्यक्रममा पूर्व सहरी विकास सचिव तथा इन्ष्टिच्यूट फर अर्वान रिसर्च स्टडिजका अध्यक्ष किशोर थापाले उक्त संस्थाले घरजग्गा कारोबारमा ठूलो सुधार ल्याउनसक्ने बताएका छन् । उनले भने– विकसित देशहरुमा एमएलएस प्रणालीबाट घरजग्गा खरिदबिक्री हुन्छ जसले गर्दा क्रेता र विक्रेता दुबै उचित मूल्यमा कारोबार गर्न सहज हुन्छ भने कुनै पनि स्थानको घर जग्गाको वास्तविक मूल्य थाहा हुन्छ ।

यस्तै, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि एन–रियोले घरजग्गा कारोबारलाई मर्यादित र व्यस्थितबनाउन सहयोग पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्