Logo

ढुवानीमा भ्याटले महँगी बढ्ने, जनताको चुल्होदेखि पहिरनसम्म प्रभावित !




काठमाडौं । सरकारले बजेटमार्फत ढुवानी सेवालाई भ्याटको दायरामा ल्याउँदा बजारमा महँगी बढ्ने भएको छ । दैनिक उपभोग्य वस्तुमा भ्याट नलगाउने सरकारी नीति भए पनि यसको ओसारपसार गर्दै आएको क्षेत्रमा भ्याट लगाइँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको चुल्होसम्म पर्ने भएको छ ।

सरकारको यस्तो नीतिको सर्वत्र विरोधसमेत भइरहेको छ । फूलट्रिप ढुवानी सेवा, खुद्रा ट्रान्सपोर्ट, ढुवानी संघहरूले सरकारले भ्याट लगाउने निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

देशभर करिब ५ हजार खुद्रा तथा फूलट्रिप ढुबानी सेवा सञ्चालनमा रहेका छन् ।

यसअघि फूलट्रिप ढुवानी सेवा, खुद्रा ट्रान्सपोर्टहरू प्यानमा दर्ता भई ढुवानी भाडा तय गरीदिएर उद्योग तथा व्यापारीलाई मालवाहक सवारी साधन उपलब्ध गराउँदै आएका थिए । उद्योगहरूले पनि निजी मालवाहक सवारी साधन नहुँदा ढुवानी सेबाबाट मालवाहक सवारी भाडामा लिँदै आएका थिए ।

देशभर खुद्रा र फूलट्रिप ढुवानीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघले ढुवानीमा भ्याट हटाउन माग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पत्र लेख्दै महासंघले ढुवानी सेवामा भ्याट हटाउन र ज्यालाका लाग प्यान अनिवार्य गर्ने व्यवस्था पनि हटाउन माग गरेको हो । ढुवानीमा पनि भ्याट लाग्ने भएपछि उत्पादन बजारमा लैजान लागत बढ्ने र उत्पादनको मूल्य नबढाई उपाय नै नहुने उद्योग वाणिज्य संघले जनाएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ढुवानीमा लगाइने भ्याट आफूहरूले तिर्न नसक्ने बताए । उनले ट्रान्सपोर्ट कम्पनीमार्फत सामान ढुवानी गर्ने भएकाले बढेको कर उद्योगी–व्यवसायीले नै तिर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्