Logo

खाडीचौर–मुडे–चरिकोट सडकको ठेकेदारलाई ६ करोड जरिवाना !




दोलखा । समयमै निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने भएको छ । सिन्धुपाल्चोकको दोलखा सदरमुकाम चरिकोट जोड्ने सडकको स्तरोन्नतिको जिम्मा पाएको कम्पनीलाई सरकारले समयमै काम पूरा नगरेको भन्दै जरिवाना तिराउने भएको छ ।

दुई प्याकेजमा ठेक्का लागेको यो सडक निर्माणमा सुनौला खिम्तीले दुवै प्याकेजमा ज्वाइन्ट भेन्चर गरेको छ । पहिलो प्याकेजमा सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभी रहेको छ भने दोस्रोमा सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभी रहेको छ ।

जम्मा ५५ किलोमिटरको सडकलाई दोहोरो लेन बनाउने तथा स्तरोन्नति गर्ने काम पाएका कम्पनीले झन्डै ४ वर्षदेखि काम पूरा गर्न सकेका छ्रैनन् ।

डिभिजन सडक कार्यालय दोलखाका अनुसार दुवै प्याकेजका ठेकेदारसँग दैनिक ७ लाख २० हजार जरिवाना असुल्ने तयारी भइरहेको छ । जसअनुसार पहिलो प्याकेजको ठेकेदार कम्पनीले दैनिक २ लाख ७० हजार तथा दोस्रो प्याकेजकाले ४ लाख ५० हजार रुपैयाँ हर्जना तिर्नुपर्नेछ ।

पहिलो प्याकेजका ठेकेदारलाई गत वैशाख २९ गतेदेखि र दोस्रोलाई वैशाख ३ गतेदेखिकै हर्जना लागेको छ ।

पहिलो प्याकेजअन्तर्गत खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर र दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ ।

समयमा काम नगरे कुल सम्झौताको पहिलो पटक ०.०५ प्रतिशत हर्जना लिन सक्ने व्यवस्थाअनुसार असार मसान्तसम्मको १२० दिनमा ६ करोड हर्जना तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यता, सडक विस्तार आयोजनाले गत वैशाखदेखि काम बन्द गरेको भन्दै काम गर्ने भरपर्दो योजनासहित तीन दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्