Logo

Banner-news

प्रधानमन्त्रीको बचाउमा पर्यटन विभाग, तर तथ्यांकले नै भन्यो सगरमाथामा अत्यधिक भीडभाड !


GDP Nepal
   ३१ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता बीबीसीलाई दिएको अन्तर्वार्तामा सगरमाथामा आरोहीको भीडभाड भएको अस्वीकार गरे र आफूहरुले अध्ययन गरेरै अनुमति वितरण गरेको बताए । तर, विश्वजगत प्रधानमन्त्रीको यो तर्क मान्न तयार छैन । अव्यवस्थित तथा जथाभावी आरोहणले नेपालको बदनाम भइरहेको तथ्यलाई प्रधानमन्त्रीको अन्तर्वार्ताले ढाकछोप गर्न सकेन ।

प्रधानमन्त्री आफैंले सम्हालेको पर्यटन मन्त्रालय यतिबेला प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा दिलोज्यान दिएर लागेको छ । मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण अव्यवस्थित भएर नभै आरोहीकै कमजोरीले मृत्यु भएको दावी गर्दै आएको छ ।

विभागले भनेको छ, सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको भनी सञ्चारमाध्यममा आएको विषयमा सत्यता छैन, आरोहणमा खटिने सम्पर्क र विभिन्न एजेन्सीको विवरणअनुसार मुत्युका कारणमा लेक लाग्ने, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी जस्ता कारण रहेको खुल्न गएको छ ।

तर, विभागको तथ्यांकले नै सर्वोच्च शिखरमा भीडभाड रहेको देखाउँछ । यस सिजनमा ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जसमा २८१ आरोही, ३७८ उनीहरुका सहयोगी रहेका छन् ।

विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना सरदार, गाइड र शेर्पासमेत गरेर १०२३ रहेका थिए ।

आरोहणका क्रममा आठ जनाको मुत्यु भएको छ भने एक जना हराइरहेका छन् ।

यसैबीच, मौसममा सगरमाथा लगायतका हिमालको आरोहणका लागि क्रमशः मृत्यु भएका तथा हराइरहेकालगायत पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानूनी, संरचनागत, कार्यविधिगत सुधारका लागि सुझाव दिन अध्ययन समिति गठन गरिएको छ ।

जेठ २४ गते प्रधानमन्त्रीस्तरीय को निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको र उक्त समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको विभागले जनाएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह