Logo

नेवार काे हुन् ? गुठी के हाे ?




रवीन्द्र श्रेष्ठ

उपत्यका वाहिरका धेरै जनसमुदायमा गुठी नभएपनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार समुदायका लागि गुठी भनेको प्राण बराबर नै हो । गुठी र नेवार समुदायका विचको सम्वन्ध वुझ्न पहिला नेवार समुदाय भनेको के हो भन्ने वुझ्नु पर्दछ ।

नेवार समुदाय भनेको कुनै एक जात होइन । यो कुनै एक धर्म मान्ने सम्प्रदाय पनि होइन । यस समुदायमा हिन्दू तथा वौद्ध धर्म मान्ने दुबै थरी छन् । नेवा मुश्लिम भनेर मल्ल काल देखि वसोवास गरिरहेका मुश्लिम धर्मालम्वीहरुपनि नेवार समुदायमा छन् । नेवार हिन्दूहरुलाई राजा जयस्थिति मल्लले चार जातमा वाँडेको इतिहास धेरैलाई सम्झना हुनु पर्दछ । नेवार समुदायको हिन्दूहरुमा चार जात अहिलेपनि विद्यमान छ ।

नेवार भनेका पृथ्वी नारायण शाहले उपत्यका कब्जा गर्नु भन्दा अगाडि उपत्यकामा रहेका नेवारी भाषा वोल्ने सबै जनता हुन् । पृथ्वी नारायण भन्दा अगाडि यहाँ जो जो वसोवास गर्न आए, ती नेवार भए । नेवारलाई नेवारहरु नेवा भन्छन् , जसको पूरा अर्थ नेपाल वासी हो । किर्तिपूरलाई नेवारहरु किपू भन्छन्, नारायणलाई नारां भन्छन्, त्यस्तै गरी नेपालवासीलाई छोटकरीमा नेवा भनिएको हो । नेवार भनेको उपत्यकामा वसोवास गर्ने त्यो वेलाका किरात, लिच्छवि, मल्ल राज्यकालका वासीन्दाहरु हुन् ।

नेवार समुदायमा गुठीको चलन व्यापक हुनुको कारण यहाँको सभ्यता विकासको आदिम साम्यवादी पृष्ठभूमि नै हो । लिच्छवि र मल्ल राजाहरु तथा उनीहरु संगै आएका अन्य समुदायहरु भारतवाट आएको इतिहास सिद्ध तथ्य हो । भारत र नेपालपनि प्राचीनकालमा आदिम साम्यवाद थियो भन्ने इतिहासमा प्रमाणित विषय हो ।

भारतको प्राचीन समाजमा जमीनको स्वामित्व सामुहिक थियो भन्ने विषयमा माक्र्सलेपनि कयौं ठाउँमा लेखेका छन् र अन्य इतिहासकारहरुलेपनि स्वीकार गरेको विषय हो । भारतमा आदिम साम्यवाद थियो भन्ने कुरा महाभारतको यस श्लोकलेपनि स्पष्ट गर्दछ । महाभारतमा भनिएको छ—“न वै राज्यम् न राजा न च दण्ड न दाण्डिक आसित्, धर्मेण एव सर्वा प्रजा परस्परम् रक्षन्ति स्म ।” अर्थात, प्राचीन कालमा न राज्य थियो, न राजा थिए, न दण्ड थियो, न दण्ड दिने कुनै थिए, धर्मको माध्यमवाट सबै प्रजाले परस्परमा रक्षा गर्दथे । माक्र्सको आदिम साम्यवादको परिभाषा भित्र महाभारतको यो भनाई ठ्याक्कै मिल्दछ ।

उपत्यकामा अष्ट मात्रिका, नव दुर्गा, कुमारी पूजा जस्ता चलन छ । राजाले कुमारी संग वर्षको एकपटक अनिवार्य रुपमा पूजा आजा सहित खड्ग साटेपछि मात्रै राजा पदमा कायम रहने परम्परा आदिले यहाँ आदिम साम्यवादमा रहने माक्र्सले भनेको मातृसत्तात्मक समाज थियो भन्ने पुष्टि हुन्छ ।

गुठी शब्द संस्कृतको गोष्ठिवाट वनेको हो । आदिम साम्यवादी प्राचीन समाजमा समाजका विभिन्न कामहरु विविध नामका गोष्ठिहरु(गुठीहरु)को माध्यमवाटै हुने गर्दथे भन्ने इतिहासमा प्रमाणित कुरा हो । त्रिविले प्रकाशित गरेको र प्रशिद्ध इतिहासकार धनबज्र वज्राचार्यले संम्पादन तथा अनुवाद गर्नु भएको “लिच्छविकालिन अभिलेखहरु” पुस्तकमा आजभन्दा १५ सय वर्ष अगाडिका शिलालेखहरुमा गोष्ठिहरु(गुठीहरु)को वर्णन रहेको छ । ती शिलालेखहरुमा पानी गुठी, प्रवहण(पारवहन अर्थात यातायात गुठी), मल्ल युद्ध गुठी(मनोरन्जन गुठी), वाजा गुठी, वेदअध्ययन गुठी, धूप गुठी, वत्ती गुठी, झण्डा ध्वजा गुठी, औषधालय गुठी, आदिको उल्लेख गरिएको छ ।

समाजका विभिन्न कामहरु सामुहिक रुपमा गर्ने संस्था भएकोले गुठी भनेको आदिम साम्यवादी संस्था हो । यो सामन्तवादको उपज होइन । यो नेपाल उपत्यकाको आदिम साम्यवादी समाजको उपज हो । यसको जड यति मजवुत भयो कि नेपाल उपत्यकामा सामन्तवादको चरम अवस्थामापनि यो कायम रहन सक्यो । जमीनमाथिको सामुहिक स्वामित्वलाई क्रमश नष्ट गर्दै व्यक्तिगत स्वामित्वमा लग्न थालिएपनि गुठी चलाउनकालागि जमीन दान गर्ने र आर्थिक कोष वनाउने चलन कायम रह्यो । गुठी र गुठीको सम्पतिलाई धार्मिक तरिकाले संरक्षण गरेर यसलाई अझ मजवुत वनाउने काम भयो । गुठीको सम्पतिलाई देवश्व भनियो र यसको अपचलन गर्नुलाई महापाप भन्दै राज्यलेपनि अपराध घोषित ग¥यो ।

पृथ्वी नारायण शाहले उपत्यकाका राज्यहरु कब्जा गरेपनि गुठीलाई कब्जा र नष्ट गर्ने हिम्मत गरेनन् । तर राजा रणवहादुर शाहले पहिलो पटक गुठी तहस नहस वनाउने प्रयास गरे । उनले गुठी सम्पति कब्जा गरे जसलाई गुठी हरण भनियो । तर त्यो काममा उनी पूर्ण सफल हुन सकेनन् । राणा शासनकाल र पछि महेन्द्र तथा वीरेन्द्र कालमा गुठीलाई कमजोर वनाउन यसको सम्पति र संस्कृतिमाथि अनेक तरिकावाट हस्तक्षेप भयो । तर पनि यो टिकिरह्यो ।

राजा महेन्द्रले गुठी संस्थान वनाएर ठुला गुठीहरु सबै सरकारीकरण गरे । वीरेन्द्रले गुठीको जमीन नीजीकरणको वाटो खोलिदिने गरी कानुन संशोधन गरे । एकातिर गुठी चलाउन आम्दानी हुने जमीनलाई निजीकरण गर्न दिने र अर्कोतिर गुठी चलाउन सरकारले वजेटको व्यवस्था नगरेर गुठीलाई कमजोर र नष्ट गर्ने प्रयास सामन्ती नायकहरुले थाले । सरकारी गुठीका जमीन भू माफियाहरुले गुठी संस्थान र अन्य सरकारी निकायका भ्रष्टहरुको सहयोगमा कब्जा गर्ने अभियान नै चल्यो । गुठी संस्थान गुठीको सम्पति र संस्कृतिको रक्षक भन्दापनि भक्षक भएर निस्क्यो ।

पञ्चायती सामन्ती नाइकेहरुको कानूनमा जनताको सामुहिक स्वामित्वमा रहेका कयौं गुठीलाई नीजि गुठी भनेर जनता कै हातमा रहन दिएको थियो । वास्तवमा त्यो नीजि होइन कि परम्परा देखि रहेको सामुहिक गुठी नै हो । सर्वसाधारण जनताको गुठी हो । नेवारहरुको सबै जात्रा पर्व देखि जन्म मृत्यु सम्मका सबै संस्कारमा गुठी अनिवार्य हुने गर्दछ । जनताले विद्रोह गर्ने डरले जनताका सबै गुठी सामन्ती राजाहरुले छुने हिम्मत गरेका थिएनन् । तर, नेकपाको सरकारले उपत्यकाको प्राचीन आदिम साम्यवादी संस्थाको रुपमा रहेको जनताको सामुहिक गुठी सबै सरकारीकरण गर्ने, गुठीको काम सरकारवाट मनोनित कर्मचारीहरुले गर्ने, गुठीको सम्पति सरकारले वनाएको गुठी प्राधिकरणले वेचविखन समेत गर्न पाउने प्रावधान सहितको विधेयक संसदमा दर्ता गरायो । सो विधेयकको दफा ३(३), दफा २३, दफा २४ र दफा ६४ ले स्पष्ट रुपमा यो अपराधिक कार्य गरेको छ । यो भनेको रणबहादुर शाहको गुठी हरण भन्दापनि नांगो ज्यादति हो ।

प्रस्तुत आलेख कम्युनिष्ट नेता रवीन्द्र श्रेष्ठको फेसबुकबाट साभार गरिएको हो

प्रतिक्रिया दिनुहोस्