Logo

फिल्म सिटीः दोलखावासीको सपनामा तुषारापात, लमजुङको गाउँसहरमा बन्ने




काठमाडौं । दोलखाको डाङडुँगे डाँडामा बन्ने भनिएको फिल्म सिटी अन्ततः निर्माण नहुने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले घाम नलाग्ने ठाउँ भन्दै कटु टिप्पणी गरेको यस क्षेत्रको सट्टा लमजुङको सदरमुकाम बेंसीसहर नजिकै फिल्म सिटी बनाउन सरकारले नै अग्रसरता लिएको हो ।

१२ अर्ब लागतमा डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउने भनिए पनि सरकारले पछिल्लो समय बजेट विनियोजन गरेको थिएन । तर, सरकारकै समन्वयमा लमजुङमा सिटी बनाउने तयारी भएको छ ।

बेंसीसहर नगरपालिकाअन्तर्गत गाउँसहरदेखि बाख्रेजगतसम्मको क्षेत्रलाई सिने नगरी बन्ने सम्झौता भएको हो । सिने नगरी बनाउन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरोकारवालाहरूबीच सम्झौता भएको हो ।

बेंसीसहर नगरपालिकाका–३, ४, ५ र ९ अन्तर्गत पाँच हजार रोपनी क्षेत्रफलमा सिने नगरी निर्माण गर्न लागिएको हो । सिने नगरी निर्माण भएसँगै बेंसीसहरमा रंगमञ्च र पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास गरीएको बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र बेंसीसहर नगरपालिकाको रोहवरमा इटालीको वल्र्ड एरिया होल्डिङ प्रालि ¬र स्काई इन्टरटेनमेन्ट इन्भेस्टमेन्ट प्रालि नेपालबीच सिने नगरी निर्माण गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा गाउँसहर क्षेत्रलाई ‘वल्र्ड स्काई सिने भिलेन नेपाल’को रूपमा प्रर्वद्धन र संरचना निर्माण गर्ने उल्लेख गरिएको छ ।

उक्त फिल्म सिटीको निर्माण ५ देखि ७ वर्षमा पूरा हुने अनुमान गरिएको छ । अन्नपूर्ण पदमार्गको प्रस्थान विन्दु र पछिल्लो समय होमस्टे हव बनेको लमजुङमा वार्षिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्