Logo

Banner-news

८ वर्षपछि बोइङलाई पछि पार्दै एयरबस: अमेरिकालाई दशा ?


GDP Nepal
   २७ असार २०७६, शुक्रबार


  • ६ महिनामा एयरबसले ३८९ जहाज बिक्री गर्दा बोइङका २३९ मात्र बिके

पेरिस (एजेन्सी) । अमेरिकी जहाज निर्माता कम्पनी बोइङलाई पछि पार्दै युरोपेली जहाज कम्पनी एयरबसले यस वर्ष निकै उत्साहजनक व्यापार गरेको छ । संसारभर ठूला जहाज उत्पादन गर्ने यी दुई कम्पनीबीच विगतमा तीब्र प्रतिस्पर्धा हुने गरे पनि यस वर्ष भने एयरबसको व्यापारमा बहार आएको छ ।

बोइङले यो वर्षको सुरु अर्धवार्षिक अवधिमा विमानको आपूर्तिमा ३७ प्रतिशतको गिरावट आएको जनाएको छ । चीनसँगको व्यापार युद्धका कारण अमेरिकी कम्पनीहरुले समस्या भोगिरहेका बेला बोइङको यस्तो समाचार आएको हो ।

दुई भयानक दुर्घटनापछि सर्वाधिक बिक्रीको ७३७ म्याक्स जेट लामो समयसम्म ग्राउन्डेड भएपछि विमानको आपूर्तिमा कमी आएको कम्पनीले जनाएको छ ।
बोइङले जनवरीदेखि जुनसम्मको अवधिमा २ सय ३९ विमान आपूर्ति गरेको थियो । यो २०१८ को समान अवधिमा भएको ३ सय ७८ जेट आपूर्तिको तुलनामा ठूलो अन्तरले कम हो ।

गत वर्षको समान अवधिको तुलनामा चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा आपूर्तिमा ५४ प्रतिशतले गिरावट आएर ९० मात्रै कायम भएको छ । विश्लेषकहरूले कम्पनीको पूरै वर्षको आपूर्ति युरोपेली प्रतिद्वन्द्वी एयरबसको तुलनामा कम हुने अनुमान गरेका छन् ।

यदि यसो भयो भने विश्वकै ठूलो विमान निर्मातामा ८ वर्षपछि बोइङ एयरबससँग प्रतिस्पर्धामा पछि पर्नेछ ।

चालू वर्षको सुरु ६ महिनाको अवधिमा ३ सय ८९ विमान आपूर्ति गरेको एयरबसले जनाएको छ । यो गत वर्षको समान अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । एयरबसले २ सय १३ अर्डर पाएको छ । यो बोइङको तुलनामा दोब्बरको हाराहारीमा रहेको बोइङले जनाएको छ ।

३ सय ४६ मानिसको ज्यान जाने गरी इन्डोनेसिया र इथियोपियामा विमान दुर्घटना भएपछि कुनै समय बोइङको सर्वाधिक बिक्री हँुदै आएको ७ सय ३७ म्याक्स जेटप्रति केही विमान सेवको विश्वास डगमगाएको छ ।
यो विमान केही संख्याका विश्वका केही विमान सेवा कम्पनीहरूले मार्चदेखि ग्राउन्डेड गर्दै आएका छन् ।

सोमबार साउदी अरेबियन बजेट क्यारियर फ्ल्याडिलले बोइङको ७३७ म्याक्सका ५० जेटको अर्डर रद्ध गरेको छ । एयरबससँगको सम्झौतातर्फ मोडिँदै रद्द गरिएका यी विमानको मूल्य ५.९ अर्ब डलरको रहेको छ ।

म्याक्स ग्राउन्डेड भएपछि आधिकारिक रूपमा अर्डर रद्द गर्ने यो विमान सेवा कम्पनी पहिलो भएको छ ।

प्रकाशित : २७ असार २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह