Logo

Banner-news

ट्रम्प भन्छन्– बिटक्वाइन क्रिप्टोकरेन्सी मुद्रा नै होइनन् !


GDP Nepal
   २९ असार २०७६, आइतबार


वासिङ्टन (एजेन्सी): संसारभर अभौतिक मुद्राका रुपमा चर्चामा आएका बिटक्वाइन र क्रिप्टोकरेन्सीलाई अमेरिकाले मान्यता नदिने भएको छ । अमेरिकाले यस्ता मुद्राले अवैध आर्थिक गतिविधि बढाउने भन्दै मान्यता नदिने संकेत गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीमा आफूलाई विश्वास नै नरहेको बताएका छन् । उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरू बैंकिङ नियमनको दायरामा आउनुपर्ने बताए ।

राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीटमा भनेका छन्, “मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन । यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन ।” विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध क्रियाकलापलाई प्रश्रय दिन सक्ने पनि उनले बताए ।

क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेटमार्फत एकापसमा गरिने कारोबार हो र यो एक किसिमको डिजिटल मुद्रा हो ।

सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तीव्र गतिमा फैलिएको छ । फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरूमाझ अझ चर्चा पाएको छ ।

करिब २ अर्ब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरू साझेदार समेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ । यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएको छ ।

तर, राष्ट्रपति ट्रम्पले फेसबुक र अरू कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुवैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिए । “संयुक्त राज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ र यो विगतको भन्दा बढी मजबुत छ ।”

विश्वका प्रमुख औद्योगिक मुलुकहरूको समूह जी–७ का अर्थमन्त्रीहरूको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीका बारेमा पनि छलफल हुने तयारी हुँदैछ ।

कतिपय अमेरिकी नेताले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रूपमा बन्देज लगाउनुपर्ने माग समेत गर्न थालेका छन् ।
फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ । विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्शका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ ।

प्रकाशित : २९ असार २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह