Logo

मुख्य समाचार

दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा !


GDP Nepal
   २ श्रावण २०७६, बिहिबार


काठमाडौं । दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ (एनबीबीएफए)का अनुसार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो ।

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुनेछ । आयोजकका अनुसार १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता–२०७६ बिहीवारदेखि आइतवारसम्म नै हुँदैछ ।

संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसबाट नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढ्ने बताए । उनका अनुसार कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धासमेत समावेश छ भने जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ ।

शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र सो भन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा एकएक स्पर्धा हुनेछ । यसैगरि महिला एथ्लेटिक फिजिक्स र महिला मोडलफिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ ।

यस्तै, प्रतियोगितामा शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफी समेत सार्वजनिक गरिएको छ। विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, अध्यक्ष श्रेष्ठलगायतले उक्त ट्रफी सार्वजनिक गरे।

अध्यक्ष श्रेष्ठले नेपालबाट २३ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ १८ र महिलातर्फ ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कुल १३० खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा छ । प्रतियोगिताको लागि दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई भारतीय रुपैयाँ ७ लाख सहयोग प्रदान गरेको छ ।

प्रतियोगिताको लागि १ करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ । यसका लागि नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत खेल शिर्षक अन्तर्गत १० लाख रकम विनियोजन समेत गरिएको छ । यस्तै अन्य रकम भने विभिन्न व्यापारिक प्रतिस्थान तथा संघ संस्थाहरुबाट प्रायोजन तथा खेलाडीहरुको रजिष्ट्रेशन शुल्कबाट जुटाइने भएको छ ।

विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चाले नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले यस पटक राम्रो प्रतिस्पर्धा हुने र काठमाडौं भेन्यु हुँदा सफल हुने बताए ।

एनबीबीएफएका उपाध्यक्ष दिनेश राजभण्डारीले दक्षिण एसियाली स्तरमा दुई पटक प्रतियोगिता आयोजना गरिसकेको र अब नेपालको लक्ष्य एसियनस्तरको प्रतियोगिता आयोजना गर्नु रहेको बताए ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह