Logo

भ्रमण वर्षको तयारी शून्य, बजेट भने थप ५० करोड माग्दै वैद्य !




काठमाडौं । पाँच महिनापछि सुरु हुने नेपाल भ्रमण वर्षको तयारी निराशाजनक छ । अधिकांश पर्यटन व्यवसायीहरु नै भ्रमण वर्ष मनाउने सरकारको घोषणाअनुसार कुनै कार्यक्रम नआएको भन्दै आलोचना गरिरहेका छन् ।

भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजकमा अटो व्यवसायी सुरज वैद्यको नियुक्तिदेखि नै चिढिएका पर्यटन व्यवसायी ५ महिनादेखि पर्यटन मन्त्रालय नेतृत्वविहीन हुँदासमेत पदपूर्ति नभएको भन्दै थप असन्तुष्ट बनेका छन् ।

यतिमात्र नभइ नेपाल पर्यटन बोर्डले भ्रमण वर्षलाई आफ्नो कार्यक्रम नै मान्न सकेको अवस्था छैन भने पर्यटन मन्त्रालयले भ्रमण वर्ष सचिवालयलाई प्रधानमन्त्री कार्यालय मातहतको निकायका रुपमा ट्रिट गर्ने गरेको पाइन्छ ।

अघिल्ला दुई ठूला इभेन्ट नेपाल भ्रमण वर्ष १९९८ र नेपाल पर्यटन वर्ष २०११ मा एक वर्ष अघिदेखि नै निकै प्रचारप्रसार हुने गरेकोमा यसपटक भने देखिनेगरी कुनै तयारी छैन । वैद्यको व्यक्तित्वबाट आशावादीहरु समेत निराश हुन पुगेका छन् ।

अघिल्ला दुई संयोजक कर्ण शाक्य र योगेन्द्र शाक्य पर्यटन क्षेत्रका निर्विवाद व्यवसायी भए पनि हालका संयोजक वैद्यलाई अन्यत्रबाट ल्याइएको भन्दै व्यवसायीले स्वीकार गर्न सकेका छैनन् । पर्यटन क्षेत्र सरकारभन्दा निजी क्षेत्रले नै डोमिनेट गरेको क्षेत्र पनि हो ।


तर, नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ । सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलव्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएकाले थप ५० करोड रुपैयाँ माग गरिएको पुष्टि गरेका छन् ।

पर्यटन वर्षमै सरकारले ३० करोड खर्चेको र हालको मूल्यमा त्यो १ अर्ब बराबर हुने तर्क गर्दै उनले बजेट माग गरेका छन् । तर, पहिलेको तुलनामा १० प्रतिशत पनि तयारी नभएको कार्यक्रमका लागि त्यति ठूलो बजेट किन दिने भन्ने प्रश्न पनि यथावत छ ।

प्रतिक्रिया दिनुहोस्