Logo

Banner-news

राति ९ बजेसम्म टिभी हेरिरहेकी थिइन् स्वराज, महाप्रस्थानअघि मोदीको प्रशंशा !


GDP Nepal
   २२ श्रावण २०७६, बुधबार


नयाँ दिल्ली (एजेन्सी): भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति अकस्मात निधन भएको छ । ६७ वर्षीय स्वराज राति ९ बजेसम्म टिभी हेरिरहेकी थिइन् भने मंगलबार दिनभर ट्वीट गरिरहेकी थिइन् ।

नरेन्द्र मोदीको पहिलो कार्यकालकी विदेशमन्त्री स्वराज यस क्षेत्रकै सक्षम र सफल महिला नेतृ मानिन्छिन् । अस्वस्थताको कारण उनी दोस्रो कार्यकालका लागि उम्मेदवार नै भइनन् ।

सुष्मा स्वराज

स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याएका थिए ।

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् ।

“प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले ट्वीटरमा लेखेकी थिइन् ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।”

प्रकाशित : २२ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह