Logo

Banner-news

मध्यसहरमा २.०९ अर्ब खर्चेर सानिमा समूहको अकामा होटल, कति तारे मान्यता पाउला ?


GDP Nepal
   २९ श्रावण २०७६, बुधबार


काठमाडौं । सानिमा समूहले काठमाडौंको धुम्बाराहीमा हालै सञ्चालनमा ल्याएको होटल अकामाले उपत्यकाभित्र नयाँ पर्यटकीय आकर्षण थपेको छ । कुल २ अर्ब ९ करोड खर्चेर निर्माण सम्पन्न भएको भनिएको होटलमा १०८ कोठा रहेका छन् ।

होटलको रुम संख्याका आधारमा यो होटलले ५ तारे दावी गर्न सके पनि अन्य पूर्वाधारका आधारमा होटलले ४ तारेको मान्यता पाउन पनि मुश्किल छ । त्यसो त बुटिक होटलका रुपमा प्रवद्र्धन गरिएको भन्दै यसका सञ्चालकहरुले तारे होटलको रेटिङको दौडमा नलाग्ने दावी गरिसकेका छन् ।

गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सानिमा समूहले यो होटलको संरचना घरजग्गा व्यवसायी हरि श्रेष्ठसँग खरिद गरेको हो । एक दशक अघिसम्म घरजग्गा क्षेत्रमा निकै सुनिएको नाम हरि श्रेष्ठ अहिले गुमनाम छन् ।

कान्तिपुर दैनिकबाट ज्ञवाली समूह बाहिरिएसँगै बाहिरिएका भेट्रान पत्रकारहरुलाई नागरिक दैनिकबाट पनि अलग्याएर दैनिकी सुरु गर्न भन्दै श्रेष्ठले लगानी गरेका थिए । तर, घरजग्गा व्यवसायमा मन्दीसँगै उनले दैनिकी सुरु गर्न सकेनन् र दैनिकी डटकम अनलाइनमै सीमित रह्यो ।

त्यसयता निकै ठूलो आर्थिक संकट बेहोरेका श्रेष्ठलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने समूहले काँध थाप्यो र उक्त भवन सकारेर होटलका रुपमा विकास गरेको हो । जसमा समूहले ५७ करोड स्वपुँजी (इक्विटी) लगानी गरेको छ भने सिद्धार्थ र सनराइज बैंकले कर्जा प्रवाह गरेका छन् ।

अकामा होटल

अपार्टमेन्टका लागि निर्माण भएको भवन भएकै कारण चौधरी समूहको भिभान्ताले चारतारे होटलको मान्यता पाउन नसकेजस्तै अकामाले पनि सोही नियति भोग्नुपर्ने अवस्था छ । यसका संरचना तथा उपकरणहरु अत्याधुनिक रहे पनि भवनको इन्टेरियर साइज तथा रुमको साइजका कारण यो होटलले तीनतारे भन्दा बढीको मान्यता पाउन नसक्ने देखिन्छ ।

होटलमा रहेका १०८ कोठामा अधिकतम २१५ जनालाई सेवा दिनसक्ने जनाइएको छ । जसमा सुपेरियर ९५, डिलक्स ६, डिलक्स सुइट ४, फ्यामिली सुइट २ र एउटा प्रेसिडेन्टल सुइट रहेको छ ।

होटलका अध्यक्ष विनयकुमार श्रेष्ठका अनुसार संस्कृतमा अकामालाई ‘वर्चस्व’ भनिन्छ । सानिमाले हात हालेको ठाउँमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले होटलको नाम नै अकामा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सानिमा समूहले यसअघि वाणिज्य बैंक, हाइड्रोपावर, बिमा, स्वास्थ्य तथा सञ्चार उद्योगमा लगानी गरिसकेको छ । अकामा भने सानिमा समूहको सेवा क्षेत्रमा पहिलो पाइला भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सेवा क्षेत्रमा पनि आफूहरूको आवश्यकता महसुस गरेर होटल सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

होटलमा विश्वस्तरीय आधुनिक सेवालाई नेपाली मौलिकतामा ढाल्ने प्रयास गरिएको छ । होटलमा आउने पाहुनालाई स्थानीय नेवारी र हिमाली संस्कृतिको मिश्रण अनुभव होस् भनेर गम्भीरतापूर्वक ध्यान दिइएको होटलले जनाएको छ ।

विश्वस्तरीय सेवासुविधा दाबी गरिएको सो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किमीको दूरीमा रहेको तथा मध्य सहरमा रहेकाले सेवाग्राहीको पहिलो रोजाइ बन्ने महाप्रबन्धक राजु श्रेष्ठले बताए । अन्य पर्यटकीय स्थलहरूमा पुग्न सहज हुने तथा सहरको ट्राफिक जाम छल्न उपयुक्त हुने हिसाबले यसलाई चक्रपथ नजिकै निर्माण गरिएको होटलका जनरल श्रेष्ठको भनाइ छ ।

होटल अकामामा समसामायिक डिजाइनमा स्थानीयपनको आभास दिने आधुनिक तथा विशेष आवासको व्यवस्था छ । शान्त एवं रमणीय वातावरणमा सुन्दर र आरामदायी कोठामा अतिथिले आफ्नो आवश्यकताअनुसार आधुनिक उपकरणहरू सहजै उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अकामाको नवौं तल्लामा रहेको ‘चाओ बेला चाइनिज–इटालियन रेस्टुराँ’मा ग्राहकले चौतर्फी मनोरम दृश्यको अवलोकन गर्दै अन्तर्राष्ट्रियस्तरको खानाको स्वाद लिन सक्छन् ।

होटलमा प्रतीक्षालय, कफी सप, पुल बार तथा रेस्टुराँको सुविधा सहज रूपमा उपलब्ध छन् । होटल अकामामा ५ ओटा अलग अलग डिजाइनमा बनेका हल छन् । ती हलहरूमा विवाहलगायत सामाजिक समारोह, सम्मेलन, बैठक, कार्यशाला गोष्ठी तथा विविध किसिमका कार्यक्रम गर्न सकिने महाप्रबन्धक श्रेष्ठको भनाइ छ ।

१५ देखि ५०० जनासम्मलाई भोज वा अन्य कार्य व्यवस्थापनका लागि होटल अकामा सक्षम छ । सुन्दर स्विमिङ पुल र पुलसँगै रहेको बार, यस होटलका मुख्य आकर्षण हुन् । यसका साथै प्रतिष्ठित अमेरिकन ब्रान्ड साइबेक्सका उपकरणले सजिएको व्यायामशालामार्फत ग्राहकले गुणस्तरीय सेवा लिन सक्छन् ।

प्रकाशित : २९ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह