Logo

Banner-news

मोदी भुटान गए तर नेपाल किन आएनन् ?


GDP Nepal
   २ भाद्र २०७६, सोमबार


नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भुटान भ्रमण सकेर आइतबार नयाँदिल्ली फर्किएका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण नै भुटानमा गरेका मोदी यसपटक काश्मिर तनावका बीचमा पनि भुटान भ्रमणमा जानुलाई भुटानप्रतिको उच्च सदभावका रुपमा हेरिएको छ ।

भुटानप्रतिको मोदीको सदभाव यथावत रहे पनि नेपालप्रतिको मोह भने भंग भएको विश्लेषण गर्न थालिएको छ । नेपाल उत्तरी छिमेकी चीनतर्फ बढी ढल्किएको नयाँदिल्लीको बुझाइसँगै मोदीले नेपाललाई कम प्राथमिकतामा राख्न थालेका छन् ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको पेट्रोलियम पाइपलाइन उदघाटनमा मोदी आउने भनिए पनि उनले यसमा रुचि देखाएनन् । पहिलो प्रधानमन्त्रीत्वको ५ वर्षे कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले नेपाललाई कम महत्व दिएको देखिन्छ ।
त्यसो त नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदन बुझ्न अस्वीकार गरेका मोदीले नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई समेत भेट दिएका छैनन् । अर्कोतर्फ भारतीय विदेशमन्त्री एस. जयशंकर पनि निकै ढिलोगरी नेपाल भ्रमणमा आउने भएका छन् ।

यता भुटानको दुई दिने औपचारिक भ्रमणमा मोदीले भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श गरेका छन् । रोयल युनिभर्सिटी भुटानमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक परम्पराले विशिष्ट स्थिति निर्माण गरेको र सम्बन्ध अझ प्रगाढ बनाएको चर्चा गरे।

यतिमात्र नभइ प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरु क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताए । उक्त सम्बोधनपछि प्रधानमन्त्री मोदीले चोर्तेनको भ्रमण गरी खद्दर अर्पण गर्नुका साथै दीप प्रज्ज्वलन गरेका थिए ।

मोदीको भुटानको दुई दिने भ्रमणका क्रममा ७२० मेगावाटको मे¬ङदेछु जलविद्युत परियोजनाको शुभारम्भ भएको थियो भने भारतीय अन्तरिक्ष विज्ञान संस्थान (इस्रो) को ग्राउन्ड अर्थ स्टेसनको उदघाटन गरेका थिए ।
प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा दुई देशबीच नौ वटा समझदारी पत्र र एउटा ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर भएका थिए ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह