Logo

Banner-news

हरियो चियाको तितो कथाः ८०% चियामा भारतीय ट्रेडमार्क, मूल्य पनि भारतीयले नै तोक्छन्


GDP Nepal
   २ भाद्र २०७६, सोमबार


इलाम । नेपाली किसानले उत्पादन गरेकामध्ये ८० प्रतिशत चिया भारत निकासी हुने र भारतीय ट्रेडमार्क लागेर विश्व बजारमा जाने गरेको पाइएको छ । यतिमात्र नभइ सरकारी बेवास्ताका कारण नेपाली चियाको मूल्यसमेत भारतीय व्यापारीले तोक्ने गरेका छन् ।

यसरी नेपाली चियाको आफ्नै ब्रान्डिङ नहुनु र किसानले मूल्यसमेत नपाउने कारण भने नेपालबाट निर्यात गरिने चिया परीक्षणमा हुने अनेकौं झमेला नै हो । नेपाली ‘ट्रेडमार्क’मा भारत जाने चियामा सिमानादेखि नै झन्झट हुने भएपछि किसान भारतीयलाई सस्तोमा बेच्न बाध्य भएका हुन् ।

नेपाली व्यवसायीका अनुसार उनीहरूले भारतीयले भनेकै मूल्यमा आफ्नो चिया दिनुपरेको छ भने भारतबाट पनि उक्त चिया तेस्रो मुलुक निर्यात हुन्छ ।

त्यसो त विश्व बजारमा चिया निर्यात गर्नकै लागि ट्रेडमार्क नबनेको पनि होइन । तर, साना किसानले यसबाट लाभ पाउन सकेका छैनन् । ठूला र पहुँचवाला व्यवसायीहरूले मात्र यसको फाइदा उठाउने गरेपछि साना किसान भारतीयलाई चिया बुझाउन बाध्य भएका हुन् ।

पहाडी जिल्लामा उत्पादित अग्र्यानिक चियाको वाह्य मूल्य बढी हुने भए पनि यसतर्फ ध्यान दिन सकिएको छैन । हाल भारतको कोलकाता भएर नेपाली चिया त्यहाँको बजार पुग्ने गरेको छ ।

प्रतिकेजी चिया उत्पादन गर्न ४५० रुपैयाँसम्म लाग्ने गरेको तर भारतीय व्यापारीले प्रतिकिलो २५० देखि ३ सयसम्ममा मात्र मूल्य दिने गरे पनि खेर जानुभन्दा बिक्री गरिएको उनीहरुको भनाइ छ ।

नेपाली व्यवसायीले आफ्नो कारखानाको उत्पादन भारतीय बजारमा पु¥याउँदा सेन्ट्रल ट्रेड ल्याब (सीएफएल) अनिवार्य गराउनुपर्ने प्रावधान छ । हरेक ६ महिनामा प्रत्येक कारखानाले आफ्नो उत्पादनको जाँच गराउनुपर्ने प्रावधान छ ।

एउटा नमुना परीक्षणको रिपोर्ट आउन १२ देखि १५ दिनसम्म कुर्नुपर्छ । सीएफएलबाहेक पछिल्लो समय व्यवसायीले ‘अनलाइन सिस्टम’को पनि झमेला बेहोर्नुपरेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह