Logo

Banner-news

हुवावेमाथिको अमेरिकी प्रतिबन्ध तीन महिना लम्बियो, अन्य ४६ कम्पनी प्रतिबन्धित


GDP Nepal
   ५ भाद्र २०७६, बिहिबार


बेइजिङ (एजेन्सी): अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि लगाएको प्रतिबन्ध अरु तीन महिनाका लागि थप गरेको छ । यसअघि लगाइएको तीन महिना प्रतिबन्धको समय सकिएसँगै अर्को तीन महिना थप गरिएको हो ।

हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकी प्रशासनको यस्तो निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ ।

अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीमाथि हुवावेलाई सेवा र वस्तु खरिद बिक्रीमा रोक लगाएको यो दोस्रो पटक हो । पहिलो पटक लगाइएको तीनमहिने प्रतिबन्ध समाप्त भएलगत्तै तीन महिना थप गरिएको हो ।

वाणिज्य विभागले हुवावेसँग कारोबार गर्ने ४६ कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । हुवावेसँग कारोबार गर्ने १ सयभन्दा बढी कम्पनी छन् र अरूमाथि पनि यस्तै रोक लगाइने सम्भावना रहेको छ ।

अमेरिकी अधिकारीहरूले यसै वर्षको सुरुमा पहिलो पटक प्रतिबन्ध घोषणा गरेका थिए । हुवावेले चिनियाँ गुप्तचर निकायलाई गोप्य सूचना संकलन गरी उपलब्ध गराउने र त्यसबाट राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने अमेरिकी तर्क छ । तर, हुवावेले अमेरिकी तर्क हास्यास्पद भन्दै आफू विशुद्ध व्यावसायिक संस्था रहेको दाबी गर्दै आएको छ ।

पछिल्लो अमेरिकी प्रतिबन्धका बारेमा विज्ञप्ति जारी गर्दै हुवावेले भनेको छ, “प्रस्टै छ कि यो निर्णय राजनीतिक प्रेरित छ र यसको राष्ट्रिय सुरक्षासँग कुनै सम्बन्ध नै छैन । अमेरिकी कदमले खुला बजार प्रतिस्पर्धाका आधारभूत सिद्धान्तलाई उल्लंघन गरेको छ ।”

हुवावेले अगाडि भनेको छ, “अमेरिकी प्रतिबन्ध कसैको हितमा छैन र यो अमेरिकी कम्पनीको पक्षमा पनि छैन । हुवावेको व्यवसायलाई दबाउने अमेरिकी प्रयत्नले अन्ततः अमेरिकालाई नै हानि गर्नेछ र प्रविधि क्षेत्रको अगुवा हुने अमेरिकी चाहनालाई ठेस पु¥याउनेछ ।”

सोमबारको अमेरिकी कदमपछि पनि हुवावेले अमेरिकामा निर्मित सेमिकन्डक्टर्स र स्मार्टफोन एवं नेटवर्क उपकरणमा आवश्यक अरू सामग्री खरिद गर्न सक्नेछ । अमेरिकी दूरसञ्चार कम्पनीहरूले हुवावेका नेटवर्किङ उपकरण किन्न सक्नेछन् ।

यसै महिनाको सुरुमा हुवावेले आफ्नै हार्मोनीओएस अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । अमेरिकी प्रतिबन्धका कारण गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुवावेका स्मार्टफोन र अरू उपकरणमा प्रयोग गर्न नपाउने सम्भावना बढेपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम प्रयोगमा ल्याउन थालेको हो ।

प्रकाशित : ५ भाद्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह